कोरोनाबाट विदेशमा १३० नेपालीको मृत्यु
कोरोनाका कारण विदेशी भूमिमा १ सय ३० नेपालीले ज्यान गुमाएका छन्। नेपालमा मृत्यु हुने २९ जनाको तुलनामा यो झन्डै पाँच गुणा बढी हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १३ मुलुकमा रहेका नेपालीले कोरोनाका कारण ज्यान गुमाएको जनाएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ। संघअन्तर्गतको स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६७ जनाको मृत्यु भएको छ। त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई) मा १९, अमेरिकामा १७, साउदीमा ९, कतारमा ७, बहराइनमा ३, टर्की, आयरल्यान्ड, जापान, नेदरल्यान्ड र स्विडेनमा १÷१ जना छन्। यस्तै अन्य मुुलुकमा तीन जनाको ज्यान गएको छ।
यसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेकाको संख्या २३ छ। वैदेशिक रोजगार बोर्डले दुई साताअघि सार्वजनिक गरेको तथ्यांक हो यो। त्यसपछि बोर्डले नयाँ तथ्यांक निकालेको छैन। बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले कम्पनी र बासस्थानमा जनघनत्व बढी भएकाले नेपाली कामदार बढी प्रभावित रहेको बताउनुभयो। कोरोनाबाट ज्यान गुमाउनेको तथ्यांक परराष्ट्र मन्त्रालयले अध्यावधिक नगरेकाले यो संख्या थपघट हुन सक्ने सूचना अधिकारी सुवेदीको भनाइ छ।
उहाँले कोरोना विश्वव्यापी महामारी भएका कारण सावधानी अपनाउँदा पनि लाग्ने गरेको बताउनुभयो। ‘कोरोनाबाट सुरक्षित रहँदारहँदै पनि वैदेशिक रोजगारीमा रहेका नेपाली संक्रमित भएका छन्’, उहाँले भन्नुभयो, ‘कोरोना लागेपछि आइसोलेसनमा बसेर घर फर्केका पनि छन् र केहीले ज्यान गुमाएका छन्।’
डा. सापकोटाका अनुसार पछिल्लो साता विभिन्न मुलुकमा रहेका नेपालीमध्ये कसैले पनि ज्यान गुमाउनु परेको छैन। संक्रमणको त्रास कायमै रहेकाले सावधानीका उपाय अपनाउनुपर्नेमा सुझाव उहाँले दिनुभयो। ‘खतरा अझै टरेको छैन’, उहाँले भन्नुभयो, ‘सावधानीका लागि मास्क लगाउने, मुख छुनुभन्दा अघि हात साबुनपानीले धुने, अपरिचित व्यक्तिसँग टाढैबाट भलाकुसारी गर्नुपर्छ।’
विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण दर बढ्दो देखिएको छ। विभिन्न मुलुकमा गरी २६ हजार २ सय २७ जना नेपाली संक्रमित भएका छन्। यसमध्ये करिब ७० प्रतिशत अर्थात् १८ हजार ७ सयभन्दा बढी निको भएर घर फर्किएका छन्। कतारमा कोरोनाबाट ९२ हजार जना प्रभावित भएका छन्। त्यसमध्ये २० प्रतिशत नेपाली छन्। कतारमा १८ हजार ४ सय नेपाली संक्रमित भएको संघको दाबी छ।
दक्षिण अफ्रिकामा यसै साता पहिलो पटक पाँच नेपालीमा कोरोना भेटिएको छ। यसअघि अफ्रिकी मुलुकमा १० जना नेपालीमा संक्रमण देखिएको संघले जनाएको छ। त्यस्तै, बंगलादेशमा १५ र भारतमा १ सय ५० जना संक्रमित रहेको पुष्टि भएको छ।
संघका अनुसार अमेरिकामा १ हजार ६ सय, बेलायतमा १ हजार २ सय २१, साउदी अरबमा ६ सय ७४, बहराइनमा ३ सय ११, यूएईमा २ सय, कुवेतमा ८४ नेपाली संक्रमित छन्। यस्तै मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्यान्डमा २२, स्पेनमा १३, क्यानडामा १३, अस्टे«लियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्विट्जरल्यान्डमा ५ जना संक्रमणको सिकार भएका छन्। जर्मनीमा ४, फिनल्यान्डमा ४, साइप्रसमा ३, न्युजिल्यान्डमा ३ नेपाली संक्रमित भएका छन्। माल्टा, हङकङ, पोल्यान्डमा २/२, म्यानमार र फ्रान्समा १/१ जना संक्रमित भएका छन्।
पछिल्लो समय धेरै नेपाली कार्यरत कतार, साउदी अरब, बहराइन र यूएईमा महामारी फैलिएको छ। त्यहाँ रहेका नेपाली कामदारबीच झनै त्रासको वातावरण बनेको छ।
चीनको वुहानमा सन् २०१९ डिसेम्बरमा देखिएको कोरोना भाइरस (कोभिड–१९) २ सय १० मुलुकमा फैलिएको छ। कोरोनाका कारण विश्वभर ५ लाख ५ हजार जनाले ज्यान गुमाएका छन्। १ करोड २ लाख ७५ हजारभन्दा बढी संक्रमणको चपेटामा छन्।
वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया तथा खाडी मुलुकमा करिब १८ लाख नेपाली श्रमिक कार्यरत छन्। वैदेशिक रोजगार विभागका अनुसार ४३ लाखभन्दा बढी वैदेशिक रोजगारीमा पुगेको तथ्यांक छ।
१ सय १० देशमा नेपालीको बसोबास भए पनि कतिपयमा कूटनीतिक नियोग र एनआरएनको राष्ट्रिय समन्वय समिति छैन। यसले गर्दा कोरोना प्रभावित नेपालीको यकिन विवरण आउन सकेको छैन। परराष्ट्र मन्त्रालयले कोरोनाका कारण मृत्यु हुने र संक्रमणमा पर्ने नेपालीको तथ्यांक राख्न नसकेको स्रोतले जनाएको छ। मन्त्रालय स्रोतका अनुसार कोरोनाको पूर्ण विवरण लिन सकिएको छैन। विदेशमा बस्ने नेपाली मूलका व्यक्तिको ज्यान गएको भए पनि तीमध्ये धेरै नेपाली नागरिक नभएको स्रोतले जनाएको छ। नेपालमा संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ। निको भएर घर फर्किएका संख्या ३ हजार १ सय ३४ छ।
अझै अड्कियो १ सय २० शव
विभिन्न कारण ज्यान गुमाई लकडाउनले गर्दा अड्किएका ८९ शव नेपाल ल्याइएको बोर्डले जनाएको छ। कतारबाट २०, साउदी अरबबाट २०, मलेसियाबाट ३१, कुवेतबाट ७, यूएईबाट ५, बहराइनबाट ३ र ओमानबाट १ जनाको शव नेपाल ल्याइएको हो। यसबाहेक १ सय २० जनाको शव अझै विभिन्न मुलुकमै छन्।
कोरोना कहरका कारण विदेशमा अलपत्र परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्किएका छन्। जेठ २२ देखि असार १३ गतेसम्म विभिन्न मुलुकबाट उनीहरूलाई ल्याइएको हो।
कुवेतबाट २ हजार २, यूएईबाट २ हजार १७, साउदी अरेबियाबाट १ हजार २ सय १८, मलेसियाबाट ९ सय २१, बंगलादेशबाट ८ सय १५, कतारबाट ६ सय ३८, माल्दिभ्सबाट ६ सय ४, जापानबाट ४ सय ९२, अस्ट्रेलियाबाट २ सय ६९, बहराइनबाट ४ सय २०, थाइल्यान्डबाट ३ सय २६ जना फर्किएका कोभिड–१९ नियन्त्रण व्यवस्थापन समितिले जनाएको छ। त्यस्तै, ओमानबाट ३ सय १३, अमेरिकाबाट ४ सय ८३, दक्षिण कोरियाबाट २ सय २८, सिंगापुरबाट १ सय ४६, बेलायतबाट २ सय २९, हङकङबाट ८९, पाकिस्तानबाट ७२, म्यानमारबाट २६, अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना फर्किएका छन्।
तपाइँकाे प्रतिक्रिया
