कोरोनाभाइरसका कारण नेपाल भित्रिने रेमिट्यान्समा ५६ प्रतिशतले गिरावट
कोरोनाभाइरस (कोभिड–१९) को प्रभावले नेपालमा रेमिट्यान्समा आधा भन्दा कमको गिरावट आएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चैत महिनामा नेपाल भित्रिने विदेशी आप्रवाहमा ५६.४७ प्रतिशतले गिरावट आएको रातोपाटी अनलाइनले लेखेको छ।
चालु आर्थिक वर्षको चैत महिनामा ३४ अर्ब ४८ करोड रुपैंया बराबरको रेमिट्यान्स नेपाल भित्रिएको थियो। जबकी फागुन महिनामा कुल ७९ अर्ब २१ करोड रुपैंया बराबर रेमिट्यान्स आएको थियो। चैत महिनामा रेमिट्यान्समा आउको गिरावटका कारण वार्षिक विन्दुगत रुपमा आएको रेमिट्यान्स आप्रवाह समेत घटेको छ। चैत मसान्तसम्म कुल ७१३ अर्ब ११ करोड रुपैंयाको रेमिट्यान्स आएको थियो।
अघिल्लो वर्षको चैत महिनासम्म ७४५ अर्ब ९३ करोड रुपैंया बराबरको रेमिट्यान्स नेपाल भित्रिएको थियो। यो गिरावट करिब ४.४ प्रतिशतको हो। अघिल्लो वर्षको चैत महिनासम्म रेमिट्यान्स करिब २० प्रतिशतले बढेको थियो।
नेपालमा चैत ११ गतेदेखि लकडाउन भएको हो। १० गतेसम्म नियमित रुपमा रेमिट्यान्स आइरहेको अवस्थामा समेत रेमिट्यान्समा ५६ प्रतिशत भन्दा बढीको गिरावट आउनुले बैशाख महिनामा यस्तो रेमिट्यान्स झनै घट्ने देखिन्छ। चैत महिनामा रेमिट्यान्स आप्रवाह कम हुनुको मुख्य कारण भने लकडाउनका कारण रेमिट्यान्ससम्बन्धी गतिविधिमा भएको प्रभाव हो। तर, रोजगार गन्तव्यहरुमा श्रम गरिरहेकाहरु रोजगारी गुम्दै गएकोले रेमिट्यान्समा स्थायी रुपमै गिरावट आउने सम्भावना विज्ञहरु औंल्याउँछन्।
रेमिट्यान्स आप्रवाह घटे पनि देशको शोधनान्तर अवस्था भने यो अवधिमा बढेको छ। विदेशबाट आउने अत्यावश्यक बाहेकका सामाग्रीको आयात ठप्प हुँदा यो अवधिमा शोधनान्तर अवस्था सन्तुलनमा रहेको हो।
चैत महिनामा नेपालमा आउने विदेशी मुद्रा भन्दा नेपालबाट बाहिरिने विदेशी मुद्रा ३६ अर्ब ६१ करोड रुपैंयाले कम छ। यसले गर्दा विदेशी मुद्र सिञ्चिति बढेर ११५५ अर्ब ९० करोड रुपैंया पुगेको छ। यो सिञ्चितिमा विदेशी मुद्राको विनिमय दरले समेत प्रभाव भने पार्छ। यो सिञ्चितिले १०.७ महिनाको वस्तु तथा ९.५ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।
यो अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने कामदारको संख्याभने १०.२ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ। अघिल्लो वर्ष यो दर ३७.५ प्रतिशतले घटेको थियो।
तपाइँकाे प्रतिक्रिया
