Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोनाविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च सतर्कता


चीनको हुपेई प्रान्तबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को त्रास पछिल्लो समय विश्वभर फैलिएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ। नेपाल आवतजावत गर्ने क्रममा रोग भित्रिन सक्ने भएकाले नेपाल जोखिममा रहेको भन्दै सतर्कता अपनाउन थालिएको हो। विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले दक्षिण कोरिया र नेपालबीच हवाई आवतजावत भएकाले नेपाल पनि जोखिममा रहेकाले सतर्कता अपनाउन थालिएको जानकारी दिनुभयो। हाल नेपालमा कोरोना सङ्क्रमण नभएको उहाँले स्पष्ट पार्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

पछिल्ला दिनमा दक्षिण कोरियामा फैलिएको कोरोनाबाट नौ जनाको मृत्यु भएको छ भने सयौँ जना सङ्क्रमित भइसकेका छन्। दक्षिण कोरिया र नेपालबीच हवाई आवतजावत भइरहने हुनाले नेपाल उच्च जोखिममा रहेको छ। नेपालीको ठूलो सङ्ख्या दक्षिण कोरियामा रहेका छन्। आफू महानिर्देशक भइसकेपछिको मुख्य काम पनि कोरोना भाइरसलाई नेपाल छिर्न नदिन उच्च कदम चाल्नु रहेको भन्दै उहाँले विमानस्थलमा सरकारले उच्च सतर्कता अपनाएको जानकारी दिनुभयो। दक्षिण कोरियामा पनि व्यापक मात्रामा फैलिएको हुँदा नेपालमा समेत उच्च सतर्कता अपनाउनुपर्ने स्पष्ट पार्नुभयो।

यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ कोरोनाविरुद्ध विमानस्थलमा डेस्क राखेर कोरोना भाइरस प्रभावित देशबाट आएका व्यक्तिहरूको स्क्रिनिङ गरिरहेको जानकारी दिनुभयो। उहाँले निरन्तर १० जना स्वास्थ्यकर्मीहरूको टोली खटिएर स्क्रिनिङ गरिरहेको जानकारी दिँदै कोरोना भाइरस प्रभावित देशबाट आएका व्यक्तिहरूको तापक्रम परीक्षणपछि मात्र विमानस्थलबाट छाड्ने गरिएको जानकारी दिनुभयो।

Insert your Ads code here

चीनसहित ३८ देशमा कोरोना सङ्क्रमणको पुष्टि भइसकेको छ। हालसम्म विश्वभर ८० हजारभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन्। कोरोनाकै कारण दुई हजार सात सय जनाको मृत्यु भइसकेको छ। सङ्क्रमण देखिएका देशहरूले अतिप्रभावित क्षेत्रका मानिसलाई घरैमा क्वारेन्टाइनमा बस्न अनुरोध गरिसकेका छन्। दक्षिण कोरियामा फैलिएको कोरोनाका कारण ईपीएसमार्फत कोरिया उडान भएका ४० जना नेपालीको उडान स्थगित गरिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!