कोरोनाविरूद्धको चीनको लडाइँमा नेपाल सँधै साथमा रहने परराष्ट्रमन्त्रीको भनाइ
कोराना भाइरसविरुद्ध चीन लडिरहँदा त्यसको प्रकोपमा परेका धेरै बिरामी निको हुँदै घर फर्कनुले नियन्त्रण प्रक्रिया सुरु भएको अनुभूति दिएको उहाँले प्रस्ट्याउनुभयो । भाइरसका कारण मर्नेको सङ्ख्याभन्दा निको भएर घर फर्कनेको सङ्ख्याले उछिन्नु र थप सङ्क्रमित हुनेको सङ्ख्याको अनुपात पनि घट्दै जानु त्यसको सङ्केत रहेको मन्त्री ज्ञवालीको भनाइ छ ।
कोरोना भाइरसका कारण नेपालमा आउँदो चैतमा हुने सगरमाथा संवाद शृङ्खलालाई कुनै खालको प्रभाव नपार्ने उहाँले प्रस्ट्याउनुभयो । आउने अतिथि सबैसँग परराष्ट्र मन्त्रालय सम्पर्कमै रहेको जानकारी दिँदै मन्त्री ज्ञवालीले सबैले आउने स्पष्ट पत्र पठाइसकेको उल्लेख गर्नुभयो ।
नेपालले जलवायु परिवर्तन र मानव जातिको भविष्यका बारेमा विश्वव्यापी अवधारणा निर्माण गर्दै समाधानको पहलमा सघाउन सगरमाथा संवाद आयोजना गर्न लागेको गोरखापत्र अनलाइनले खबर लेखेको छ।
सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा नेपाल–भारत सीमा समस्या वार्ताबाटै पहल गर्ने कुरामा भारतले सहमति जनाएकाले त्यसमा कुनै शङ्का नरहेको मन्त्री ज्ञवालीले स्पष्ट पार्नुभयो । नयाँ वार्ताको मिति नेपालले पर्खिरहेको भन्दै उहाँले छिट्टै नै त्यो भारतले पठाउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री ज्ञवालीले एमसीसीको थप अध्ययन गर्न बनेको कार्यदलको म्याद फेरि थप गरी काम गरिरहेको जानकारी दिनुभयो ।
यसैबीच मन्त्री ज्ञवालीले बङ्गलादेशको भ्रमण फलदायी रहेको जानकारी दिनुभयो । उहाँ यही फागुन ५ गते बङ्गलादेश भ्रमणमा जानुभएको हो । बङ्गलादेशका प्रधानमन्त्रीसँग भएको द्विपक्षीय वार्तामा नेपाल र बङ्गलादेशबीचको राजनीतिक सम्बन्धलाई सुदृढ गर्दै आर्थिक सम्बन्धलाई गहिरो बनाउने समझदारी भएको उहाँले जानकारी दिनुभयो ।
त्यस क्रममा दुई देशबीचको व्यापार प्रवर्द्धन र सन्तुलित बनाउन थप व्यापार सम्भाव्यता खोजी गर्ने, अवरोधहरू हटाउने, शुल्क घटाउने र नयाँ निर्यातयोग्य वस्तुहरूको उत्पादन वृद्धि गर्ने सहमति दुई देशबीच भएको छ ।नेपालको ऊर्जा, कृषि, पर्यटनजस्ता क्षेत्रमा बङ्गलादेशको लगानी अभिवृद्धि गर्ने समझदारी बनेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई देशबीचको कनेक्टिभिटीलाई अझ विस्तार गर्न नजिक रहेका सहरबीच सीधा हवाई उडान गर्ने, सडक मार्गको सुधार तथा स्तरोन्नति गर्ने, रेलमार्ग सञ्जाल विस्तार गर्ने, नेपाल, भारत र बङ्गलादेशका नदीहरू जोड्ने र जलमार्गको विकास गर्ने समझदारी पनि बङ्गलादेशसँग भएको छ ।
तपाइँकाे प्रतिक्रिया
