नेपाल सरकारले कोरोना संक्रमण फैलिएको ८ देशबाट नेपाली नागरिक घर फर्किँदा पनि कडाई गर्ने भएको छ। यसरी आउँदा कोरोना संक्रमण नभएको प्रमाणपत्र पेश गर्नुपर्नेछ, जुन जारी भएको सात दिन कटेको हुनु नहुने अनलाइन खबरले लेखेको छ। सरकारले कोरोनाको संक्रमण धेरै देखिएको चीनका साथै इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई ‘अन–अराइभल’भिसा नदिने निर्णय गरेको छ। त्यहाँका नागरिक नेपाल आउन चाहे नेपाली दूतावास वा नियोगमा कोरोना भाइरसको संक्रमण नभएको भनेर जारी गरेको ७ दिन नकटेको प्रमाणपत्र बुझाउनुपर्छ, अनि मात्र भिसा पाउन सक्छन्। र, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो भएर मात्र नेपाल प्रवेश गर्न सक्छन्।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार उल्लेखित ८ देशमा रहेका नेपाली घर फर्किँदा पनि कोरोना संक्रमण नभएको भनि जारी गरेको ७ दिन नकटेको प्रमाणपत्र पेश गर्नुपर्छ। यसरी आएपछि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिने मन्त्री ढकालले बताउनुभयो। ‘उनीहरुका लागि चीनबाट ल्याएका विद्यार्थीहरुलाई जस्तो सरकारले क्वारेन्टाइनमा राख्दैन’ उहाँले भन्नुभयो, ‘सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ।’
यसअघि सरकारले अनअराइभल भिसा दिन रोक लगाएपनि नेपाली फर्किन कडाइ गरेको थिएन। विमानस्थलमा ज्वरो जाँच गर्दा नदेखिए छाड्ने गरिएको थियो। दक्षिण कोरियाबाट फर्केका केही नेपालीमा कोरोना भाइरस संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पताल पुगेका थिए। तर उनीहरुमा संक्रमण पुष्टि भएको छैन।