Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना भाइरसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा ठूलो मात्रामा कटौती


कोरोना भाइरस कोभिड–१९को सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा भारी कटौती भएको छ। विश्वव्यापीरूपमा कोरोनाको सङ्क्रमण फैलिएपछि नेपालबाट दुवैतर्फी उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले आफ्नो उडानमा कटौती गरेका हुन् ।

पछिल्ला दिनमा दिनहुँजसो अन्तर्राष्ट्रिय उडानमा कटौती भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो । उहाँका अनुसार विमानस्थलमा सामान्य अवस्थामा अन्तर्राष्ट्रियतर्फ दैनिक ४५ देखि ५० उडान हुने गरेकामा आज २९ वटा मात्रै उडान भएका छन् । सोमबार ३० वटा अन्तर्राष्ट्रिय उडान भएको थियो । विमानस्थलबाट दुवैतर्फी उडान र अवतरण गर्दा दैनिक सरदर ९५ देखि ९० अन्तर्राष्ट्रिय उडान हुने गरेको गोरखापत्र अनलाइनले जनाएको छ।

कोरोनाको प्रभावले हवाई यात्रु घटेपछि हवाई कम्पनीले पनि उडान क्रमशः कटौती गर्न थालेका हुन् । यात्रु कम भएपछि वायु सेवा प्रदायकले धमाधम उडान कटौती गर्न थालेको महाप्रबन्धक केसीको भनाइ छ। विमानस्थलका अनुसार एयर इण्डियाले पहिला दैनिक चार उडान भर्दै आएकामा अहिले एउटा मात्रै उडान भर्दै आएको छ । कतार एयरवेजले दैनिक चार उडान भर्दै आएकोमा अहिले दुई वटा मात्र उडान गरिरहेको छ । ड्रागन एयरले काठमाडौँ उडान स्थगन गरिसकेको छ। साताको चार उडान भर्दै आएको कोरियन एयरले एउटा मात्र उडान भर्दै आएको छ । विमानस्थलबाट अहिले तीन नेपालीसहित ३० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । हालको अवस्थामा नेपाल आउने मात्र नभई नेपालबाट अन्य गन्तव्यमा उडान भर्ने वायुसेवा प्रदायकले पनि धमाधम उडान कटौती गरिरहेका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुबई गन्तव्यको उडान स्थगन गरेको छ भने नेपालबाट चीनमा उडान गर्दै आएको निजी लगानीको हिमालय एयरलाइन्सले चीनका चार गन्तव्यमा सातामा १५ उडान भर्दै आएकामा अहिले सबै बन्द गरेको छ । त्यस्तै हिमालयले दुबई र साउदी अरब गन्तव्यको पनि हाललाई अर्को सूचना जारी नभएसम्म उडान स्थगन गर्ने निर्णय गरेको छ । उता चीनबाट नेपाल उडान भर्ने सबै पाँच वायुसेवा प्रदायकले पनि काठमाडौँ विमानस्थलको उडानमा भारी कटौती गरेका छन् ।

Insert your Ads code here

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चीन गन्तव्यमा मात्रै पहिला यही याममा सातामा ६० देखि ६२ उडान हुने गरेकामा अहिले सातामा १० वटामात्र उडान भइरहेको छ । चीनबाट नेपाल उडान भर्ने एयर चाइनाले सातामा १४ उडान भर्दै आएकामा अहिले सातामा जम्मा एक उडान गरिरहेको छ । चाइना साउदर्न एयरको सातामा १४ उडान रहेकामा अहिले सातामा दुई मात्रै उडान भइरहेको छ । चाइना इस्टर्नको सातामा ११ उडान थियो भने अहिले सातवटा उडान छ । त्यसैगरी सिचुवान एयरलाइन्सको सातामा चार उडान रहेकामा अहिले सबै बन्द रहेको छ भने सातामा सात उडान भर्दै आएको तिब्बत एयरलाइन्सले पनि अहिले सबै उडान स्थगन गरेको छ । पहिला अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ११ हजारभन्दा बढी यात्रुको आगमन हुन्थ्यो भने अहिले करिब पाँच हजार मात्रै यात्रु आगमन भइरहेको विमानस्थलले जनाएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!