Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना भाइरसको अनुवांशिक अध्ययन नेपालभित्रै गर्ने तयारी अन्तिम चरणमा


कोरोना भाइरसको जिनोम सिक्वेन्सिङ (अनुवांशिक अध्ययन) नेपालभित्रै गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको नेतृत्वमा सरकारी तथा निजी संस्थाहरुको सहकार्यमा अध्ययन गर्ने तयारी भएको अधिकारीहरुले बताएका छन्।

‘जिनोम सिक्वेन्सिङको तयारी अन्तिम चरणमा पुर्‍याएका छौँ। यसका लागि परिषदले विभिन्न सरकारी अन्य संस्थाहरुसँग सहकार्य गर्नेबारे छलफल भएको छ,’ परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भन्नुभयो, ‘यस विषयमा एथिकल कमिटीले पनि स्वीकृति दिइसकेको छ।’

परिषदले राष्ट्रिय प्रयोगशाला, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, विश्वविद्यालयहरु, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र निजी कम्पनीहरुसँग पनि यस विषयमा छलफल भएको जनाएको छ। मन्त्रालयले तीन साताअघि नै परिषदलाई यस विषयमा अध्ययन अघि बढाउन आग्रह गरेको थियो।

Insert your Ads code here

जिनोम सिक्वेन्सिङको बहुआयामिक प्रयोग हुने भएपनि नेपालमा गरिने परीक्षणमा सबैभन्दा पहिले यहाँ देखिएको कोरोना भाइरस अन्य देशसँग के कति मेल खान्छ वा फरक हुन्छ भनेर हेरिने छ। यस्तो अध्ययनले नेपाली संक्रमित भएको भाइरसको उत्पत्ति मात्रै नभएर यसले ल्याउने सक्ने जटिलताको बारेमा पनि अध्ययन गरिने नेपालखबर अनलाइनले जनाएको छ।

नेपालमा कोरोना भाइरसको प्रमुख स्रोत भारत, खाडी राष्ट्र, युरोप तथा चीन हुन्। बुधबार संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा संक्रमितमध्ये ८५ प्रतिशत भारतबाट आएका व्यक्तिहरु भएको जानकारी गराउनुभएको थियो। बुधबार दिउँसोसम्म ४ हजार ८५ जना नेपाली संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमितमध्ये हालसम्म १५ जनाको मृत्यु भएको भइसकेको छ।

परिषदको अनुसन्धान विभागका प्रमुख मेघनाथ धिमालले फरकफरक कोरोना संक्रमितबाट संकलन गरिएको भाइरसको जिनोम सिक्वेन्सिङ गरिने बताउनुभयो। फरक फरक देशबाट आएका, मृत्यु भएका, निको भएका, तीन वटै भौगोलिक क्षेत्र, विभिन्न जातजाति, उमेर समूह, लिंग, संक्रमण भेटिएका समयसहितका समूह निर्धारण गरिएको छ।

नेपालमा कोरोना संक्रमण भएको व्यक्तिको पहिलो जिनोम सिक्वेन्सिङ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को हङकङ विश्वविद्यालयस्थित ल्याबमा गरिएको थियो। सम्बन्धित निकायबाट स्वीकृति नलिई गरिएको सो अध्ययन विवादमा परेको थियो। परिषदको स्वीकृति नलिई गरिएको सो अध्ययनमा संलग्न ६ जना वरिष्ठ अधिकारीहरुलाई सरकारले स्पष्टीकरण सोधेको छ। पहिलो संक्रमित व्यक्ति चीनको वुहानबाट आएका विद्यार्थी थिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!