वायुसेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायु सेवा सञ्चालक संघले कोरोना भाइरसको कारण आन्तरिक उडानमा असर परेको जनाएको छ। संघले एक विज्ञप्ति जारी गर्दै कोरोनाको सम्भावित जोखिमको हल्लाले विदेशी पर्यटक आगमन घटेको तथा आन्तरिक यात्रुको चहलपहल पनि कम भएकाले हवाई सेवा प्रभावित भएको जनाएको हो।
छिमेकी मुलुक चीनमा देखा परेको कोरोनाको सङ्क्रमणले विश्वव्यापी रुप लिएसँगै संसारको अर्थतन्त्रलाई असर पार्ने र अर्थतन्त्रको मुख्य पाटो पर्यटन क्षेत्रमा नराम्रो असर पर्ने खतरा औँल्याउँदै सङ्घले आन्तरिक वायुसेवा कम्पनीको समेत व्यापार घटेको जनाएको छ।
विदेशी पर्यटक नआउँदा अहिले उपलब्ध जहाजलाई मागअनुसार यात्रु नपुग्ने भन्दै सङ्घले सोहीकारण अब अनुपात मिलाएर सबै कम्पनीका जहाज ग्राउन्डेड गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरेको छ।
Insert your Ads code here
‘संघको यही २२ गते भएको बैठकले सम्पूर्ण खर्चमा मितव्ययिता अपनाउने, अहिले भएको वायुयानको सङ्ख्याअनुसार माग नहुने अवस्थामा सबै कम्पनीले आफ्नो जहाज ग्राउण्डेड गर्ने, कर्मचारीलाई बिना तलब छुट्टिमा जान प्रोत्साहित गर्ने र सेवा सुविधा कटौती गर्नेसमेतका कार्य गरिने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ। विगतमा सङ्कटको बेला सबैले साथ दिएको इतिहास रहेकाले अहिले परिस्थितिको सामना गर्न पनि साथ र सहयोग प्राप्त हुने सङ्घले विश्वास लिएको छ।नेपालको आन्तरिक उडानमा कोरोनाको प्रभावका कारण करिब चार अर्ब रुपैयाँ क्षति हुने सङ्घले अनुमान गरेको छ।