Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना भाइरसको संक्रमण देखिएयता साढे १५ हजार चिनियाँ नेपालमा


कोरोना भाइरसको संक्रमण देखिएयता साढे १५ हजार चिनियाँ नेपाल भित्रिएका छन्। तर उनीहरू कति यतै छन् र कति फर्किए भन्ने रेकर्ड सरकारसँग छैन। उनीहरूको स्वास्थ्य परिक्षण नगरिएको र आवश्यक क्वारेन्टाइन वा आइसोलेसनमा पनि नराखिएकाले कारोनाभाइरस फैलिने सम्भावना अहिले झन् बढेको छ। अध्यागमन विभागका अनुसार जनवरी महिनामा मात्र १२ हजार १ सय ६९ र फेब्रुअरीमा ३ हजार २ सय ८५ चिनियाँ नागरिक नेपाल आएका हुन्।

सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनमा कोरोनाको संक्रमण देखिएको थियो। चीनमा कोरोना संक्रमण बढ्दै जाँदा कतिपय देशले चीन आवातजावत बन्द गरेपनि नेपालले भने त्यस्तो केहि निर्णय नगर्दा चिनियाँ नागरिक नेपाल प्रवेश गरिरहेका हुन्। सोमबार अपरान्हसम्म पनि चीन आवातजावतबारे सरकारको कुनै निर्णय नआएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिनुभयो।

सरकारले सोमबार एक सूचना जारी गरी फागुन २७ देखि लागु हुनेगरी चीन (उसका विशेष प्रशासन क्षेत्रहरु समेत), इरान, इटाली, दक्षिण कोरिया, र जापान लगायतका मुलुकबाट आउने यात्रुलाई तत्कालका लागि अराइभल भिसा रोकेको छ। चीन आवात–जावत गर्नेको संख्यामा भने गतवर्षको तुलनामा झण्डै ५ गुणाले कमी आएको छ। २०१९ को फेब्रुअरिमा १४ हजार १ सय ६१ जना नेपाल आएका थिए। तर यो वर्षको फेब्रुअरिमा ३ हजार २ सय ८५ जना चीनियाँ मात्रै नेपाल आएको नेपालखबर अनलाइनले लेखेको छ।

Insert your Ads code here

चीनमा कोरोना संक्रमण फैलिएपछि नेपाल प्रवेशमा कुनै रोकतोक नभए पनि चीनबाट अन्यत्र उड्ने हवाइयात्रुमा कुनै लक्षण देखिए उनीहरुलाई त्यहिँको विमानस्थलमै रोक्ने गरिएको छ। पछिल्लो समय नेपालबाट चीन जानेको संख्यामा पनि कमी आएको छ। गतवर्ष फेब्रुअरिमा १५ हजार ५ सय ८८ जना चीन गएका थिए भने, यही अवधिमा यो वर्ष चीन जानेको संख्या ३ हजार ५ सय ६१ मात्रै छ। गत डिसेम्बरमा चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ आवाजावत गर्नेको संख्या प्रभावित भएको हो। जनवरीमा समेत गत वर्षको तुलनामा कम आवाजावत भएको थियो।

गतवर्ष जनवरीमा ११ हजार ४ सय ३० जना चिनिया नागरिक नेपाल आएका थिए। त्यही महिना नेपालबाट चीन जानेको संख्या ११ हजार ७ सय ७१ थियो।

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेसँगै जनवरीमा नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढेको थियो। तर कोरोना फैलनेक्रम बढ्दै गएपछि धेरै चिनियाँ आफ्नै देश फर्किएका छन्। जनवरीमा १२ हजार १ सय ६९ चिनियाँ नेपाल आएका थिए। तर आउनेको तुलनामा जनवरीमा फर्किनेको संख्या बढेको थियो। सोहि महिनामा नेपालबाट १७ हजार १ सय ५१ जना चिनियाँ स्वदेश फर्किएका छन्। त्यसअघि सन् २०१९ को नोभेम्बरमा १५ हजार ३ सय ११ जना नेपाल आएकोमा १४ हजार ४ सय ४७ जना चीन फर्किएका थिए। गएको महिना १ सय ८२ देशबाट ७७ हजार ६४ जना नेपाल आउँदा नेपालबाट बाहिरिने विदेशीको संख्या ६६ हजार २ सय ७४ छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!