Loading... आजः बुधबार , माघ ९, २०८१

कोरोना भाइरस फैलिएको चीनको हुपै प्रान्तबाट नेपाली विद्यार्थीहरू फर्काइने


कोरोना भाइरस फैलिएको चीनको हुपै प्रान्तबाट १८० जना नेपाली विद्यार्थीहरूले नेपाल फर्किनका लागि आवेदन दिएका छन्। बेइजिङस्थित नेपाली दूतावासले शनिबार एउटा सूचना प्रेषित गर्दै विद्यार्थीहरूलाई आइतबार बिहान ९ बजेसम्ममा फारम भर्न सूचित गरेको थियो। दूतावासले दिएको जानकारी अनुसार कोरोनाको उद्गमथलो वुहान सहित हुपै प्रान्तका अन्य सहरमा रहेका विद्यार्थीहरूले फर्किने इच्छा देखाएका हुन्।

वुहान युनिभर्सिटी, चोङ्ह्वा विज्ञान तथा प्रविधि विश्वविद्यालय अन्तर्गत थोङ्ची मेडिकल कलेज, हुपै युनिभर्सिटी अफ मेडिसिन, सेन्ट्रल साउथ युनिभर्सिटी, सीसीएनयू, चाइना एकेडेमी अफ साइन्स, वुहान युनिभर्सिटी अफ टेक्नोलोजी, चाइनिज युनिभर्सिटी अफ जिओसाइन्स, याङ्त्से युनिभर्सिटी, हुपै मिन्चु युनिभर्सिटी र ह्वाचोङ कृषि विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले फारम भरेको दूतावासले जनाएको छ। फारम भर्नेमध्ये वुहानका ६३, चिङ्चाैका ५०, अनशका २९, श्यानका २८ र यिछाङ्का ५ जना विद्यार्थी छन्।

हुपै प्रान्तमा कूल १ सय ८८ जना नेपाली रहेको दूतावासले जनाएको छ। कामदारको पासपोर्ट रोजगारदाताको मातहत हुने भएकाले त्यहाँ काम गरिरहेका कुनै पनि कामदारले फारम भरेका छैनन्। दूतावासका नियोग उपप्रमुख सुशील लम्सालका अनुसार नेपालबाट नेपाल एयरलाईन्स चीनमा पठाइएपछि फारम भर्ने विद्यार्थीहरूको विमानस्थलमै स्वास्थ्य जाँच गरिने बताउनुभयो। दूतावासका अनुसार हालसम्म हुपै प्रान्तमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित छन्।

Insert your Ads code here

यसैबीच जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चीनबाट फैलिँदै गएको कोरोना भाइरसको जोखिम मध्यनजर गर्दै नेपाल भारत सीमा क्षेत्रमा सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ । भारतसँगको खुला सीमा भएकाले भारतबाट आउने पर्यटकलाई नेपालका स्वास्थ्यकर्मीले निगरानी बढाउन निर्देशन दिएपछि सो क्षेत्रमा स्वास्थ्य जाँचमा कडाइ गरिएको हो। स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा प्रशासनको निर्देशनपछि कोरोनाबारे जाँच तथा यसको सचेतना सहायता कक्ष स्थापना गरिएको रुपन्देहीका सहायक प्रजिअ भरत शर्माले जानकारी दिनुभयो।

सहायता कक्षमा भारतबाट आउने पर्यटकलाई परामर्श दिने र शङ्का लागेमा नजीकको अस्पतालमा पठाउने गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सहायता कक्ष बिहान ७ देखि साँझ ८ बजेसम्म सञ्चालन गरिनेछ ।

यस्तै कोरोना भाइरसको संक्रमण भित्रिन नदिन बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहामा ‘हेल्थ डेस्क’ आइतबारदेखि सञ्चालनमा ल्याइएको छ । सो सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको सङ्क्रमण भए नभएको जाँच गरिने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!