Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना भाइरस र लकडाउनले आयातसँगै निर्यात व्यापार पनि कमजोर


कोरोना भाइरस र लकडाउनले आयातसँगै निर्यात व्यापार पनि खुम्चिएको छ। भन्सार विभागले सार्वजनिक गरेको १० महिनाको तथ्यांकअनुसार आयात व्यापार १३ प्रतिशत घटेको छ । निर्यात ४.५ प्रतिशत बढे पनि अघिल्लो दुई महिनाको तुलनामा धेरै घटेको छ । विभागका महानिर्देशक सुमन दाहालले भन्नुभयो, ‘पछिल्लो दुई महिनामा निर्यात व्यापार बढ्न सकेन ।’

तथ्यांकअनुसार अघिल्लो वर्षको १० महिनाको अवधिमा ११ खर्ब ७८ अर्ब रुपैयाँको सामान आएको थियो। चालु आवको सोही अवधिमा १२.९९ प्रतिशत घटेर १० खर्ब २५ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो आवको १० महिनामा ७८ अर्ब रुपैयाँको निर्यात भएकोमा चालु आवको सोही अवधिमा ८२ अर्ब रुपैयाँको निर्यात भएको तथ्यांक छ । उक्त अवधिमा वैदेशिक व्यापार ११ खर्ब ७ अर्ब रुपैयाँको भयो। यसअनुसार व्यापार घाटा ९ खर्ब ४३ अर्ब रुपैयाँ भएको विभागको तथ्यांक छ। विभागका अनुसार पछिल्लो दुई महिनामा निर्यात/आयात व्यापार त्यति भएन। कोरोना संक्रमण रोक्न सरकारले लकडाउन गरेपछि समग्र व्यापार व्यवसाय सुस्त छ।सवारी साधनसँगै उद्योग व्यवसाय र पसल नखुल्दा थप समस्या भएको उद्योगी व्यवसायी बताउँछन्। १० महिनामा ५५ करोड ८० लाख ३४ हजार रुपैयाँको फेस मास्क आयात भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि मास्कको माग अत्यधिक छ। भारत, चीनदेखि युरोपियन मुलुकबाट मास्क आएको छ। उक्त अवधिमा ४० लाख ८० हजार १ सय ५८ किलो फेस मास्क आयात भएको छ। यसमा सबैभन्दा बढी चीनबाट ३९ लाख ९५ हजार २ सय १० केजी भित्रिएको कान्तिपुरमा खबर छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!