Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना महामारीका सम्बन्धमा प्रधानमन्त्री ओलीको राष्ट्रका नाममा संवोधन


प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सम्भावित संक्रमण रोकथाम र नियन्त्रणका लागि मुलुकले सबैको दृढ इच्छाशक्ति र उच्च मनोबल माग गरेको बताउनुभएको छ। मिर्गौला प्रत्यारोपणपछि साताअघि अस्पतालबाट फर्केका प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो स्वास्थ्य अवस्थाको समेत प्रसंग जोडेर दृढ इच्छाशक्ति र मनोबलको कुरा गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले विपत्का बेला हुने एकताको प्रसंग निकाल्दै भन्नुभयो ‘२०७२ को विनाशकारी भूकम्प र त्यसपछि सिर्जित प्रतिकूलतालाई हामीले दृढताका साथ सामना गर्‍यौं,’ ‘यस अप्ठ्यारो घडीमा पनि त्यस्तै दृढतासहित, पूर्ण सहयोग र साथ दिनुहुने विश्वास लिएको छु ।’

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोगमा सम्भावित संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न आफूहरू सफल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भाइरसको सम्भावित संक्रमणबाट जोगिन निजी क्षेत्र, संघसंस्था, दुवै छिमेकी तथा अन्य मित्रराष्ट्रलगायत अन्तर्राष्ट्रिय समुदायबाट हालसम्म प्राप्त सबै प्रकारका सद्भाव तथा सहयोगका लागि धन्यवाद दिनुभयो।

Insert your Ads code here

प्रधानमन्त्री ओलीले नागरिकलाई आफ्नो कर्तव्य पूरा गर्न आह्वान गर्दै सम्भावित महामारीबाट जोगिने प्रयास गर्दा हुने असहजतालाई अन्यथा रूपमा नबुझ्न आग्रह गर्नुभयो। ओलीले आफूलाई नागरिकले भरोसा गरेको प्रधानमन्त्रीका रूपमा चित्रित गर्नुभएको कान्तिपुर अनलाइनले लेखेको छ।

नागरिकलाई सरसफाइमा ध्यान दिन, भीडभाडबाट टाढै रहन, सकेसम्म घरमै बस्न, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्न, हल्ला वा अफवाहको पछि नलाग्न, चिकित्सक, विज्ञ र प्राविधिकहरूको सल्लाह पालना गर्न, धैर्यता, संयमता अपनाउन, सावधान हुन तर आतंकित नहुन अपिल गर्नुभयो।

प्रधानमन्त्री ओलीले संक्रमित मुलुकबाट नेपाल आएकाहरूलाई १४ दिन घरमै क्वारेन्टाइनमा बस्न पनि आग्रह गर्नुभयो। उहाँले कोभिड–१९ को महामारीबाट उत्पन्न जटिल अवस्थाका कारण सिंगो विश्व इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको उल्लेख गर्नुभयो। नेपालमा यो संक्रमणको प्रत्यक्ष प्रभाव नपरे पनि जोखिमबाट ढुक्क हुने अवस्था नरहेको प्रधानमन्त्री ओलीको मूल्यांकन छ ।

प्रधानमन्त्री ओलीले विदेशमा रहने नेपालीलाई सम्बन्धित मुलुकमा रहेका कूटनीति नियोगबाट समस्या समाधानमा सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री ओलीले संसद्मा प्रस्तुत एवं एकमतले पारित गरिएको संकल्प प्रस्ताव र सर्वदलीय बैठकमा अभिव्यक्त विचारबाट समस्याको समाधानमा सिंगो राष्ट्र एकजुट रहेको भावना प्रकट भएको उल्लेख गर्नुभयो। उहाँले यस अभियानमा सरकारका सबै अंग, नागरिक समाजका सबै संघ/संस्था र आमसञ्चार जगत्समेतलाई पारस्परिक सहयोगका साथ नेपाली राष्ट्रिय भावना प्रकट गर्न आह्वान गर्नुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!