Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना विरुद्धको अभियानमा लाखेनाच


गठेमङ्गल (घण्टाकर्ण) को भोलिपल्टदेखि प्रर्दशन गरिएको दोलखाको चरिकोटमा लाखेनाच कृष्ण जन्मष्टमीको भोलिपल्ट बुधवार राति १२ बजेबाट यो बर्षको लागि अन्त्य गरिएको छ। कंसले कृष्णलाई मार्न पुतनालाई पठाएको तर उल्टै कृष्णले नै पुतनालाई मारिदिएको पौराणिक कथावस्तुमा आधारीत भै चरिकोटमा २०१६ सालदेखि लाखेनाच प्रर्दशन गर्दै आएको चरिकोट गुठिका अध्यक्ष रामदास श्रेष्ठले बताउनुभएको नेपाल समाज अनलाइनले लेखेको छ।

लाखेलाई पुतनाको रुपमा हेरिने यो नाच गठेमङ्गलको भोलिपल्ट देखि हरेक दिन मुख्य बजार क्षेत्रहरुमा प्रर्दशन गरिने भएपनि यो बर्ष कोरोना संक्रमणको भयका कारण थोरै दिनमात्र प्रर्दशन गरिएको आयोजक लालीगुराँस युवा क्लबका अध्यक्ष प्रविण श्रेष्ठले बताउनुभयो।

सदरमुकाम चरिकोटमा झण्डै डेढ सय बर्ष अघिदेखि नेवार समुदायको बसोबास रहदै आएको स्थानिय जेष्ठ नागरिकहरुको भनाइ छ। कुनै लिखित दस्तावेज नभएपनि भक्तपुरको सुकुल ढोकाबाट काभ्रेपलाञ्चोक जिल्लाको नाङ्ग्रे हुदै सुरुमा पञ्चवीर श्रेष्ठ र कृष्णवीर श्रेष्ठ दुई दाजुभाइ अहिलेको पुरानो बजारमा आएर बसोबास गरेको इतिहास प्रचलनमा रहेको पाइन्छ। त्यसपछि भक्तपुरकै दत्तात्रयबाट ब्यापारको सिलसिलामा हरिकृष्ण श्रेष्ठ समेत आएपछि चरिकोट पुरानो बजारमा नेवार समुदायको बसोबासमा बृद्धि हुदै गएको थियो।

Insert your Ads code here

चरिकोट बजारमा नेवार समुदायको बसोवासमा बृद्धि हुदै गएपछि त्यतिबेलाको संस्कृत प्रेमी युवाहरु नारायणकृष्ण श्रेष्ठ, हिरालाल श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, देवीबहादुर श्रेष्ठ, अमृतबहादुर श्रेष्ठ, फत्तबहादुर श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, नारायणलाल श्रेष्ठ, अर्जुनबहादुर श्रेष्ठ, टंक मास्के लगायतले अगुवा अभिभावकहरु रत्नबहादुर श्रेष्ठ, डम्बरबहादुर श्रेष्ठ, भक्तबहादुर श्रेष्ठ, हर्कसुन्दर श्रेष्ठ, रत्ननारायण श्रेष्ठ लगायतको प्रेरणामा लाखेनाच, हिलेजात्रा, मारुनी नाच जस्ता सांस्कृतिक पर्वहरु मनाउदै आएको चरिकोट गुठीका अध्यक्ष रामदास श्रेष्ठ बताउनुहुन्छ।

त्यही विगतको परम्परालाई जिवन्त राख्न अहिले लालिगुँरास युवा क्लब र चरिकोट गुठीमा आवद्ध युवाहरुले लाखेनाच लगायतका सांस्कृतिक जात्राहरुलाई निरन्तरता दिँदै आएका छन्।

लाखेनाच प्रर्दशन अघि गठेमङ्गल (घण्टाकर्ण) को बेलुका नाट्यस्वीको पुजा गरेर परालको राक्षस बनाई बजार घुमाएर चोकमा जलाउने प्रचलन रहेको छ। घण्टाकर्ण राक्षसले बच्चालाई दुख दिने गरेकोले यसरी गठेमङ्गल (घण्टाकर्ण) को दिन त्यसलाई सबैको अगाडि जलाईएको किंवदन्ती पाईन्छ। त्यसरी घण्टाकर्णको दिन परालको राक्षसलाई जलाएपछि भोलिपल्टबाट लाखेनाच प्रर्दशन गरिने र कृष्ण जन्मष्टमीको भोलिपल्ट राति १२ बजे कृष्णले चक्रले हानेर लाखेलाई मारेपछि एक बर्षको लागि लाखेनाच अन्त्य गरिने प्रचलन रहेको आयोजक लालिगुँरास युवा क्लबका अध्यक्ष प्रविण श्रेष्ठले बताउनुभयो।

यो पटक कोरोना संक्रमणको बीचमै पनि संस्कृतिलाई जिवन्त राख्नको लागि लाखे नाच प्रर्दशन गरिएको तर लाखेको सेनामेना (झुम्रे) हरुलाई समेत माक्स लगाउन दिएर कोरोना विरुद्ध सांस्कृतिक रुपमा चेतना अभिबृद्धि गर्दै जात्रा मनाईएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!