Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना विरूद्ध लड्नसक्ने खालको बजेट ल्याउन अर्थविदहरूको सुझाव


कोरोना कहर बीचमा आउने आगामी बजेट रोग, भोक र शोकसँग लड्न सक्ने हुनुपर्ने सुझाव गरिएको छ। कोरोना नियन्त्रणपछि पूरक बजेट ल्याएर विकास निर्माण, उत्पादन तथा उत्पादकत्व र रोजगारी सिर्जना गर्ने अर्थविद्हरूको सुझाव छ ।

अनुत्पादक क्षेत्रको खर्च कटौती, विलासिताका वस्तु खरिदमा पूर्ण रोक, संसद् विकास कोषलाई निरुत्साहन गर्न पनि सुझाव गरिएको छ। नेपाल आर्थिक सङ्घका अध्यक्ष प्रा. डा. विश्वम्भर प्याकुरेलले अहिले जनताको जीवन रक्षालाई बढी प्राथमिकता दिई बजेट ल्याउन सुझाव दिनुभयो । बन्दाबन्दी लामो हुँदा अर्थतन्त्र केही घट्न सक्ने तर खोल्न हतार गर्दा शून्यमा नै पुग्ने भएकाले हालको अवस्थालाई विचार गर्नुपर्ने उहाँको भनाइ छ। झन्डै चार खर्ब रुपियाँ ऋणमा डुबेको साना तथा मझौला व्यवसाय उकास्न बजेटले सोच्नुपर्ने सुझाव उहाँको छ।

अर्थशास्त्री प्रा. डा. गोविन्द नेपालले आगामी बजेटका लागि सरकाले लिएका सिद्धान्त र प्राथमिकता समयसापेक्ष भएको भन्दै विगतमा खर्च नभएको रकमलाई आकस्मिक कोषमा राखेर आवश्यकता अनुसार खर्च गर्ने व्यवस्था उपयुक्त हुने सुझाउनुभयो। डा. पोषराज पाण्डेले अहिलेको असाधारण परिस्थितिमा कोभिड नियन्त्रण गर्न सक्ने किसिमले स्मार्ट बजेट ल्याउनुपर्ने बताउनुभयो। उहाँले बजेटले स्वास्थ्यका पूर्वाधार निर्माणमा जोड दिनुपर्ने, खाद्य सुनिश्चिताको आधार र रोजगारी सिर्जना गर्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!