Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना संकटबीच जेठमा आश्चर्यजनक रुपमा बढ्यो रेमिट्यान्स


कोरोना महामारीका कारण लकडाउन लागू भएसँगै नेपालमा चैत महिनामा रेमिट्यान्स भित्रिने क्रम कम भएको थियो। तर, जेठ महिनामा आश्चर्यजनक रुपमा रेमिट्यान्स रकम वृद्धि भएको नेपाल खबर अनलाइनले लेखेको छ।

सामान्य अवस्थामा मासिक ७०–७५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिँदै आएको थियो। तर, जेठ महिनामा भने एकै पटक ३० अर्ब बढी अर्थात एक खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको जेठ महिनामा ७४ अर्ब रुपैयाँ रेमिटयान्स भित्रिएको थियो।

नेपाल रेमिटर्स एसोसिएसनले पनि जेठ महिनामा असामान्य रुपले रेमिट्यान्स आएको बताएको छ।’जेठ महिनामा १ खर्ब रुपैयाँ रेमिट्यान्स आउँदा आफैँ आश्चर्यमा परेको छु,’ एसोसिसएनका अध्यक्ष सुमन पोखरेलले भन्नुभयो। उहाँले तीन कारणले जेठमा रेमिट्यान्स ह्वात्तै बढेको बताउनुभयो।

Insert your Ads code here

‘पहिलो कुरा कडा लकडाउन हुँदा नपठाएको पैसा आयो। अर्को, फर्किनेहरुले कम्पनीमा बाँकी रहेको सबै सेवा सुविधा सहितको रकम ल्याए,’ उहाँले भन्नुभयो, ‘तेस्रो भनेको यो समयमा हुण्डीको कारोबार कम भयो।’

पछि के कसो हुन्छ भनेर मान्छेहरु फर्किंदा सबैले बैंकमा जम्मा गरेको, कम्पनीबाट लिन बाँकी रहेको सबै रकम ल्याएको हुनसक्ने पोखरेलको अनुमान छ। नेपाल राष्ट्रबैंकको तथ्याङ्क हेर्दा पनि चैतमा अत्यन्त कम रेमिट्यान्स आएको थियो। चैतमा ३४ अर्ब रुपैंया मात्रै आएको थियो। वैशाखमा केही मात्रामा सो रकम बढेको थियो।

चालू आर्थिक वर्षमा भदौमा सबैभन्दा बढी रकम भित्रिएको थियो। त्यसबे ७८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। नेपालीको श्रम गन्तव्य मुलुक सहित विश्वभर कडा लकडाउन हुँदा चैतमा रकम रोकिएको रेमिटर्स एसोसिएसनले जनाएको छ।’पहिलो कुरा त अन्योलका बीच विदेशमा रहेकाले पैसा पठाउन नै चाहेनन्, अर्को चाहेकाले पनि पठाउन पाएका थिएनन्। जसकाकारण चैतमा कम रेमिट्यान्स आएको थियो,’ पोखरेलले भन्नुभयो।

अर्थमन्त्री युवराज खतिवडाले पनिसोमबार जेठ महिनामा आएको रेमिट्यान्स हेर्दा वार्षिक रेमिट्यान्स आप्रवाहमा ठूलो प्रभाव नपर्ने बताउनु भएको छ। ‘कोरोना संक्रमणको महामारीका कारणले रेमिट्यान्समा जति असर पर्ने आकलन थियो, त्यस्तो नहुने देखिएको छ,’ उहाँले भन्नुभयो।

उहाँका अनुसार अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका नेपालीहरु ठूलो मात्रामा फर्किने आकलन गरिएको थियो। तर विदेशमा काम खुल्न थालिसकेको र नेपाली कामदारको माग समेत हुन थालेकाले अब त्यसमा आत्तिनुपर्ने अवस्था नभएको खतिवडाले बताउनुभयो। रेमिट्यान्स प्रभावित नहुँदा नेपाली बैंकहरुमा तरलता अभाव नहुने उहाँको भनाइ छ।

तर, अध्यक्ष पोखरेलका अनुसार चालू आर्थिक वर्षमा रेमिट्यान्स ५ प्रतिशत हाराहारीमा घट्नेछ। जेठमा अधिक मात्रामा रकम भित्रिएपनि असारको पछिल्लो विवरण हेर्दा जेठको तुलनामा निकै कम भएको छ।

गत आर्थिक वर्षको तुलनामा रेमिट्यान्स चालू आर्थिक वर्षमा सवा खर्ब रुपैयाँले घट्ने पोखरेलको भनाइ छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!