कोरोना संक्रमण रोक्न सातवटै प्रदेशमा आवश्यक सामग्रीसहित स्वास्थ्य टोली परिचालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो। मन्त्री ढकालका अनुसार विश्वभर फैलिँदै गएको कोरोना संक्रमणको रोकथाम, शीघ्र पहिचान, निगरानी तथा व्यवस्थापन गर्न विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कार्ययोजना तयार गरिएको छ।
तातोपानी र रसुवागढी नाकामा चिकित्सक खटाइएको छ भने कोरोना व्यवस्थापनका लागि आवश्यक सामग्रीको मौज्दात थप गरिएको मन्त्री ढकालले जानकारी दिनुभयो। कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिम प्रदेशका सात स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य कक्षमा जनशक्ति र तीनवटा इन्फ्रारेड रेडिएशन थर्मोमिटर थप गरी नेपाल आउने सबै यात्रुको अनिवार्य जाँच गर्ने प्रवन्ध पनि मिलाइएको छ।
Insert your Ads code here
यही १७ गते प्रधानमन्त्री निवासमा सम्पन्न उच्चस्तरीय बैठकबाट प्राप्त सुझावका आधारमा मन्त्रालयबाट थप योजना बनाई कार्यान्वयन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो। अनलाइन खबरका अनुसार उपत्यकाका सबै अस्पतालसँग विभिन्न चरणमा पूर्वतयारीका लागि बैठक तथा छलफल गरिएको छ।