Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना संक्रमितको संख्या ८२, नेपालगन्जमा मात्र २३ जना संक्रमित


 

बाँकेको नेपालगन्जमा मंगलबार थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेको छ। नेपालभर संक्रमितको संख्या ८२ पुगेको सेतोपाटी अनलाइनले लेखेको छ।

नेपालगन्जमा कोरोनाभाइरसका संक्रमित पहिलोपल्ट गत शुक्रबार फेला परेका थिए। नेपालगन्ज उपमहानगरपालिका–८ जोलहनपुरुवाका ६० वर्षीय पुरूषमा कोरोना देखिएपछि उनको सम्पर्कमा आएका व्यक्तिलाई पछ्याउँदै परीक्षण थालिएको थियो।

Insert your Ads code here

अहिलेसम्म कोरोना संक्रमण पुष्टि भएकाहरू तिनै पुरूषको सम्पर्कमा आएकाहरू रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो। त्यसो भए के पहिलो संक्रमित व्यक्तिबाटै सबैमा संक्रमण फैलिएको हो त? श्रेष्ठले उनीबाट नै कोरोना फैलिएको भन्नेमा शंका व्यक्त गर्नुभयो।’पहिलो केस कुन हो भन्ने नै पत्ता लागिसकेको छैन,’ श्रेष्ठले भन्नुभयो ‘पहिलो संक्रमित व्यक्ति ६० वर्षिय नै हो कि, अरूबाट उनलाई सरेको हो? त्यो पत्ता लागिसकेको छैन।’

मदरसामा पढाउने ती पुरूषको सम्पर्कमा आएकाहरूलाई जाँच्दा नयाँ संक्रमित फेला परेको भए पनि ती पुरूषलाई पनि अरूबाट कोरोना सरेको हुनसक्ने श्रेष्ठको शंका छ।’अरूबाट उनलाई सरेको हो कि, उनी वा अरू बाहिरबाट आएकाले संक्रमण फैलाए अझै प्रष्ट भएको छैन,’ उहाँले भन्नुभयो।

उहाँले सबैको संक्रमितहरूको ट्राभल हिस्ट्री पत्ता लगाउन नसकिएको संक्रमण कहाँदेखि फैलियो भन्ने थाहा पाउन मुस्किल भएको बताउनुभयो।

पहिलो संक्रमित ६० वर्षीय पुरूष रुपैडिहा, नानपारा लगायतका ठाउँमा (ससुराली सम्म) आवातजावात गरेको देखिए पनि टाढाको ट्राभल हिस्ट्री नदेखिएको श्रेष्ठले जानकारी दिनुभयो।

‘यताको सम्बन्ध उता र उताको सम्बन्ध यता भएकामा संक्रमित भेटिएको भए पनि उनीहरू धेरै टाढा गएको देखिदैन,’ श्रेष्ठले भन्नुभयो, ‘फेला परेका संक्रमितमध्ये यो बीचमा रुपैडिहा वा नानपारा नगएको कोही पनि छैन।’

श्रेष्ठले मंगलबार ४ बजेसम्म पहिलो संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी गरेर उनी बसेको तथा आवातजावात गरेको बस्तीहरूमा थप स्वाब संकलन गरिने जानकारी दिनुभयो। उहाँले मुस्लिम समुदायका व्यक्तिहरूले आफ्नो समुदायका मानिसहरुको मात्रै नमूना संकलन गरेको भन्ने गुनासो गर्न थालेकाले अन्य समुदायको पनि स्वाब संकलन गर्ने तयारी गरिएको जानकारी दिनुभयो।

श्रेष्ठका अनुसार कोरोना संक्रमण पुष्टि भएकाहरूमध्ये कसैमा पनि लक्षण देखिएको छैन। कसैमा कुनै लक्षण नदेखिएको पनि गत बिहीबार आशंकाको आधारमा नेपालगन्ज-८ स्थित जामा फूलबारी मस्जिदमा बस्ने ११ जनाको स्वाब संकलन गरेकोमा ६० वर्षिय पुरूषमा कोरोना भेटिएको थियो।

ती पुरूष मस्जिदमा नमाज पढ्न र मदरासामा पढाउने गर्थे।

नेपालगन्जमा दुई तीन दिनको अवधिमा २३ जनामा कोरोना संक्रमण फैलिएपछि त्रासदी छाएको छ। सर्वसाधारण मानिसहरुले फोन गरेर जनप्रतिनिधहरुलाई हैरान पार्न थालेका छन्। नेपालगन्जकी उपमेयर उमा थापाले भन्नुभयो ‘मेरो पनि चेकजाँच गर्नुपर्छ, म पनि उनीहरुको सम्पर्कमा आएको हुँ, भन्दै रातदिन फोन गर्छन्।’नेपालगन्जमा चाहेजति सबैको एकै साथ जाँच हुन सकिरहेको छैन। किनकी आवश्यक उपकरण र जनशक्तिको अभाव छ।’हामीसँग जम्मा ३०-४० वटा जति पिसिआर किट होला, गएराति थप अढाइ सय जति आएको छ,’ थापाले भन्नुभयो ‘ त्यसले त पुग्ने कुरै भएन, कम्तिमा एक हजार बढी पिसिआर किट उपलब्ध हुनुपर्ने थियो।’

पहिलो पटक फेला परेका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई पछ्याउँदै जाँदा २३ जनामा संक्रमण भेटिएको भए पनि कसैमा पनि लक्षण नदेखिएको हुँदा सर्वसाधारण झनै त्रासमा रहेको थापाले बताउनुभयो। अहिलेको आइसोलेसन अस्पताल २५ बेड क्षमताको मात्रै रहेको हुँदा तुरून्त अर्को आइसोलेन अस्पताल बनाउनु पर्ने थापाको भनाइ छ।

उपमेयर थापाले अहिलेसम्म सबै संक्रमितको अवस्था सामान्य रहेको भएपनि पछि तलमाथि भए पर्याप्त भेन्टिलेटर नरहेकाले हुँदा त्यसतर्फ पनि तत्काल ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!