Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोविड-19 को राज्यमा प्रसार रोकथाम गर्न निर्धारित दिशा-निर्देश अनुसार काम भएन: एसडीएफ


गान्तोक, 05 अप्रेल । सिक्किम को विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले सिक्किम सरकारमाथि कोविड-19 को राज्यमा प्रसार रोकथाम गर्न निर्धारित दिशा-निर्देश अनुसार काम नगरेको आरोप लगाएको छ। एसडीएफ प्रमुख प्रवक्ता एमके सुब्बाले आइतबार राजधानीमा आयोजित एक संवाददाता सम्मेलनमा यस्तो आरोप लगाए। राज्य सरकारले कोविड-19 को प्रसार रोकथाम गर्न सरकार तयार रहेको दाबी गरिरहेको छ, तर सिक्किममा अहिलेसम्म कोविड-19 परीक्षणको निम्ति एउटा टेस्टिङ ल्याबसमेत नरहेको उनले बताए। उनले टेस्टिङ ल्याबको स्थापना बिना सबै तयारी अपूर्ण रहेको आशय व्यक्त गरे। राज्य सरकारले यति संवेदनशील विषयमा पनि गम्भीरता नदेखाएको आरोप लगाउॅंदै प्रधानमन्त्रीसित भएको भिडियो कन्फरेन्समा राज्यका मुख्यमन्त्रीले टेस्टिङ ल्याबको कुरा नभएको पनि उनले आश्चर्य प्रकट गरे। उनले टेस्टिङ ल्याबको स्थापना गर्नु नसक्नुको एउटा मुख्य कारण सरकारसित कोषको कमी रहेको बताए। उनले यसको निम्ति इमरजेन्सी फण्ड प्रयोग गर्नु सकिने थियो, तर सरकारले यसको पनि प्रयोग नगरेको बताए। यो महामारीका कारण यदि सिक्किममा कसैले आफ्नो ज्यान गुमाउनु पऱ्यो भने यसको निम्ति सरकार जिम्मेवार हुने उनले बताए। यस अतिरिक्त प्रमुख प्रवक्ता सुब्बाले राज्य सरकारलाई सुझाउहरू पनि दिए। उनले यो महामारी यति चॉंड़ै रोकिने छैन भन्दै सरकारलाई एउटा मेडिकल एक्सपर्ट कमिटी गठन गर्ने सुझाउ दिए। उनले यस कमिटीमा सेवारत अनि अवकासप्राप्त सबै चिकित्सकहरूलाई सामेल गर्नुपर्ने र यो महामारीसित लड़न कमिटीले सरकारलाई सर सल्लाह दिनुपर्ने बताए। यो महामारीले आर्थिक महामारी पनि निम्त्याएको छ भन्दै उनले सरकारलाई एउटा इमोनोमी एडभाइजरी कमिटी पनि गठन गर्नुपर्ने सुझाउ दिए, जसले यो आर्थिक महामारीबाट राज्य अनि राज्यवासीहरूलाई राहत दिन काम गर्नेछ। उनले सरकारलाई राहत कोषको निम्ति तत्काल भारत सरकारलाई मेमोरेण्डम पठाइहाल्नुपर्ने पनि सुझाउ दिए। सुब्बाले भने, ‘यो संकटको समयमा एक अर्कालाई साथ दिनु पर्छ भन्छ, तर हामीले दिएको सल्लाहलाई पनि मान्नु पऱ्यो।’ उनले यो महामारीसित लड़न सरकारले राजनीतिक दलहरूसहित अन्य संघ संस्थाहरूसित एउटा सामूहिक सभा आयोजन गर्नुपर्ने थियो, तर त्यसमा पनि सरकार चुकेको आरोप लगाए। यसैगरी, उनले राज्यपालको ध्यान आकर्षित गर्दै राज्यमा टेस्टिङको स्थापनासहित अन्य आवश्यक पहलहरूका निम्ति हस्तक्षेप गरिदिने माग राखे।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!