Loading... आजः शनिबार , श्रावण १२, २०८१

क्यान्सर अस्पतालको विकासमा चीनको सहयोग गर्ने नेपालका लागि चिनियाँ राजदूतको भनाइ


नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य क्षेत्रमा चीन सरकारको सहयोग निरन्तर रहने बताउनु भएको छ। चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मंगलबार चिनियाँ मेडिकल सहयोगको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी दिनमा अस्पतालको स्तरोन्नति र विकासमा सहयोग गर्न चीन दृढ रहेको बताउनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

चीन सरकारले अस्पताल बनाउन सहयोग गरेको र त्यसपछि निरन्तर सहयोग गर्न पाएकामा खुशी प्रकट गर्दै उहाँले नेपाली जनतालाई अर्बुद रोगको उच्चस्तरको उपचार दिन चिनियाँ चिकित्सक समूह सधैँ प्रतिबद्ध भएको बताउनुभयो। अस्पताल स्थापनापछि चिनियाँ चिकित्सक समूहलाई अस्पतालका चिकित्सक कर्मचारीले गरेको सहयोग र समन्वयप्रति उहाँले आभार प्रकट गर्नुभयो। सो अवसरमा राजदूत होउले अस्पताललाई भिडियो एक्सरे र शल्यचिकित्सा उपकरण तथा अर्बुदरोगीलाई आवश्यक पर्ने औषधि उपलब्ध गराउनु भएको थियो।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले अस्पतालको अहिलेको अवस्था र भावी योजनाबारे जानकारी दिँदै चिनियाँ सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो।

Insert your Ads code here

विसं २०५७ देखि सञ्चालनमा आएको सो अस्पताल चीन सरकारले निर्माण गरेको हो। अस्पतालका उपनिर्देशक डा निर्मल लामिछानेका अनुसार अस्पताल स्थापना भएयता निरन्तर रुपमा १४ चिनियाँ चिकित्सक र दुई सहयोगी यहाँ रहँदै आएका छन्। उनीहरुको तलबभत्ता चीन सरकारले बेहोर्दै आएको छ।

शुरुमा एक सय शैय्यारहेको क्यान्सर अस्पतालमा हाल ४५० शैय्या छ। गत वर्ष एक लाख ३१ हजार बिरामीले अस्पतालबाट सेवा लिएका थिए। अस्पतालमा उपचारका लागि नेपाल र भारतका सीमा क्षेत्रबाट बिरामी आउने गर्छन्।

रासस

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!