Loading... आजः शनिबार , श्रावण १२, २०८१

खतरा अझै पनि टरेको छैन, त्यसैले सरकारका दिशानिर्देशहरू पालन गरेर आफु र सिक्किमलाई सुरक्षित राख्नुपर्छः मुख्यमन्त्री पीएस तामाङ


गान्तोक, 06 मई । मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले एकपल्ट फेरि सिक्किमका जनतालाई तेस्रो चरणको लकडाउनलाई पनि गम्भीरतासित लिॅंदै पालन गर्ने अपील गरेका छन्। सरकारले तेस्रो चरणको लकडाउनमा धेरै छुट दिएको र यस छुटको दुरूपयोग नगरिदिने पनि उनले अपील गरेका छन्। मुख्यमन्त्री गोले आज सम्मान भवनमा आयोजित एक संवाददाता सम्मेलनमा बोल्दै थिए। मुख्यमन्त्रीले केन्द्र सरकारको दिशानिर्देश अनुसार सिक्किम सरकारले पनि तेस्रो चरणको लकडाउनमा आर्थिक गतिविधिलाई बढ़ाउन राज्यमा धेरै व्यापार प्रतिष्ठिानहरूलाई छुट प्रदान गरेको बताए। उनले यो छुट कुनै राजनीतिक हड़तालको बन्दपछि पाएको छुट नभएर महामारीको बन्दबाट पाएको छुट हो भन्दै सबै जना अझ सतर्क बस्नुपर्ने समय आएको बताए। उनले खतरा अझै पनि टलेको छैन, यसकारण सरकारका दिशानिर्देशहरू पालन गरेर आफु र सिक्किमलाई सुरक्षित राख्नुपर्छ भनी आह्वान गरे। उनले मानिसहरूलाई अनावश्यकरूपमा घरबाट बाहिर नआउने अपील गरे। यसैगरी, मुख्यमन्त्री गोलेले यदि यो छुटका कारण जनताको जीवनमाथि खतरा उत्पन्न हुने स्थिति आएको खण्डमा सरकारले दिएको छुट फिर्ता पनि लिन सक्ने संकेत दिए। सरकारले वर्तमान स्थितिलाई ध्यानमा राखेर आवश्यक विभागहरू मात्र खुल्ला राखेको र विभाग पनि न्यूनतम कर्मचारीहरूको उपस्थितिमा सञ्चालन भइरहेको उनले जानकारी दिए। यसै क्रममा मुख्यमन्त्रीले विपक्षीहरूको ध्यान आकर्षित गर्दै अहिलेको समय भनेको कोरोना महामारीबाट सिक्किम र सिक्किमे जनतालाई सुरक्षित राख्नु रहेको बताए। उनले अहिले राजनीति गर्ने समय नरहेको र संसारलाई कोविड 19 बाट सुरक्षित गरेपछि राजनीति गर्नु सकिने बताए। मुख्यमन्त्री गोलेले आफ्नो सम्बोधनमा सामाजिक सञ्जालहरूमा सरकारमाथि उठिरहेका प्रश्नहरूको पनि जवाफ दिएका थिए। उनले कोटा, राजस्थानबाट आएका 19 जना विद्यार्थीलाई लिएर उठिरहेको विवादको विषयमा स्पष्ट गर्दै विद्यार्थीहरूलाई स्कूल प्रशासनकै सक्रियतामा सिलगढ़ीसम्म पुऱ्याउने पहल गरिएको र सिलगढ़ीबाट एसएनटी बसमा सिक्किम आएको बताए। राज्य सरकारले विभिन्न राज्यहरूमा अध्ययनरत विद्यार्थीहरूसित कुनै प्रकारको भेदभाव नगरेको पनि दाबी गरे। उनले राज्य बाहिर फॅंसेका सिक्किमेहरूलाई धैर्य धारण गरिदिने अनुरोध गर्दै सरकारले सबैलाई चरणबद्ध रूपमा सिक्किम फर्काइल्याउने भरोसा दिलाए। यसैगरी, राज्यमा क्वारन्टाइन केन्द्रहरूलाई लिएर मानिसहरूले जनाइएको आपत्तिबारे बोल्दै उनले संकटको यो समयमा सबैलाई सहयोग गरिदिने अपील गरे। उनले क्वारन्टाइनमा जसलाई पनि राखिन्छ उनीहरू कोरोना विरामी होइनन् भन्दै सिक्किमकै सुरक्षाको निम्ति यसो गरिएको बताए। अर्कोतिर, मुख्यमन्त्रीले कसैलाई पनि राज्य बाहिरबाट अवैधरूपमा सिक्किम प्रवेश नगरिदिने अनुरोध गरे। यदि कसैलाई यसरी अवैधरूपमा सिक्किम प्रवेश गरेको भेटिए उनीहरू विरूद्ध आईपीसीको धारा 307 हत्याको प्रयासअन्तर्गत मामिला दर्ता गरिने चेताउनी पनि दिए। यस अतिरिक्त मुख्यमन्त्रीले मुख्यमन्त्री राहत कोषमा अहिलेसम्म 12 करोड़ 26 लाख 33 हजार 972 उठेको र यसमा 4 करोड़ 85 लाख 50 हजार 744 रूपियॉं खर्च भएको पनि जानकारी दिए। यसरी नै उनले राज्य बाहिरबाट कुल 5715 जनाले सिक्किम फर्केर आउन पञ्जीकरण गरेको जानकारी दिए।(हिस)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!