Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएर अन्तर्राष्ट्रिय उडान हुन अझै ९ महिना लाग्ने


भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएर अन्तर्राष्ट्रिय उडानहरु शुरु हुन कम्तीमा ९ महिना समय लाग्ने भएको छ। ‘बीचमा कुनै अवरोध नभए अझै कम्तीमा नौ महिनाभित्र विमानस्थलबाट व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय उडान शुरु गर्न योग्य हुन्छ’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भन्नुभयो, ‘राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध विमानस्थल नै पहिलो आयोजनाको रुपमा निर्माण सम्पन्न हुने हाम्रो विश्वास छ।’

यद्यपि कोरोनाको असरका कारण विदेशबाट उपकरण र प्राविधिक जनशक्ति आउन ढिलाइ भए विमानस्थलको काम सम्पन्न हुन र अन्तर्राष्ट्रिय उडान शुरु हुन स्वतः ढिलाइ हुने पोखरेलले बताउनुभयो।

अनलाइनखबरका अनुसार यो आयोजना पूरा हुने मिति पछिल्लो पटक ३१ मार्च २०२० लाई तोकिएको थियो। तर कोरोना महामारीका कारण काम रोकिएपछि ठेक्का सम्झौताको अवधि पाँचौंपटक थप गरेर आउँदो डिसेम्बरसम्म लम्ब्याइएको छ। कोराना महामारीका कारण चीनबाट आउनुपर्ने उपकरण र प्राविधिक जनशक्ति आउन ढिलाई हुँदा पाँचौपटक म्याद थपिएको हो।

Insert your Ads code here

३१ डिसेम्बर २०१४ बाट काम शुरु भएको विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ । रोकिएका चिनियाँ उपकरण जुलाईको अन्त्यसम्म जलमार्ग र स्थलमार्गबाट आइपुग्ने अपेक्षा गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक पोखरेलले बताउनुभयो। प्राधिकरणका अनुसार डिसेम्बरमा निर्माण सकिएमा त्यसपछि सञ्चालनपूर्वको तयारीका लागि करिव तीन महिना समय लाग्नेछ ।

विमानस्थल विस्तार आयोजनाका अनुसार बन्दाबन्दीको अवधिमा विमानस्थल निर्माणको करिव तीन प्रतिशत भौतिक प्रगति थपिएको छ । आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीका अनुसार अहिले रनवे लाइट जडानको काम अन्तिम चरणमा पुगेको छ भने टर्मिनल भवनमा एयर कण्डिसन तथा अन्य उपकरण जडानसम्बन्धी काम भइरहेको छ ।

आयोजना प्रमुख अधिकारीका अनुसार आईसीबी–१ को अधिकांश उपकरण जडान भइसकेको छ। आईसीबी–२ अन्तर्गतका कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्स (सीएनएस) को काम मध्ये भीओआर/डीएमई सञ्चार उपकरण, मौसम पूर्वानुमान उपकरणहरु ९५ प्रतिशत भन्दा बढी आइसकेका र जडानको क्रममा रहेका छन्।

बन्दाबन्दी भएपछि करिव एक महिना भने विमानस्थल निर्माणको काम पुरै रोकिएको थियो । तर सरकारले विकास आयोजना निर्माण अघि बढाउने निर्णय गरेपछि स्थानीय प्रशासनसँगको समन्वयमा निर्माण कम्पनीले कामलाई निरन्तरता दिएको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!