ग्रेटर नेपालले सरकारविरुद्ध संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्मा उजुरी गर्ने
भारतअधीनस्थ धार्चुलामा अलपत्र पारिएका नेपाली नागरिकहरूलाई अाइतबारसम्ममा नेपाली भूमिमै उचित व्यवस्थापन नगरे ग्रेटर नेपाल राष्ट्रवाद मोर्चाले सरकारविरुद्ध संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद् मा उजुरी गर्ने विषयको अाज प्रकाशित विज्ञप्ति ।
विज्ञप्तिको पूर्ण पाठ :
नेपाल-इन्डिया सिमानामा शरणार्थी बन्न बाध्य पारिएका नेपाली नागरिकहरूलाई सरकारले अाउँदो अाइतबारसम्ममा ससम्मान देशभित्र प्रवेश नदिए संयुक्त राष्ट्रसंघ , मानवअधिकार समितिमा उजुरी दिनेबारे ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको प्रेस विज्ञप्ति
नेपाल-इन्डिया सीमाको काली नदीदेखि पश्चिम इन्डियाअधीनस्थ धार्चुलाबाट नेपाल प्रवेश गर्न नेपाल सरकारले रोक लगाएपछि जतिसुकै नाराबाजी गरे पनि अन्ततः ती नेपाली निरुपाय र असहाय भई त्यहीँ थचारिएर बस्न बाध्य भएका छन् । अाफ्नो देशको माटो छोएर घरअाँगन पुग्न राज्यले नै मार्ग नदिएपछि उनीहरू बाबुअामा छँदाछँदै व्यवहारले टुहुरा भएका बालबालिका झैँ हतभागी भएका छन् ।यसरी अाफ्नो घर फर्किने बाटो छेक्न राज्य नै लागेपछि बिचल्लीमा परेका ती नेपाली नागरिकहरू शरणार्थी हुन् कि तिनको अाफ्नै देश पनि छ भन्नेमा दुबिधा उत्पन्न भएको छ । अाफ्नो देशमा प्रवेश गर्न नपाएपछि इन्डियाको प्रशासनको निगाहमा बाँच्नुपर्ने बाध्यताको सिर्जना गर्ने नेपाल सरकारले अाफ्ना नागरिकको अभिभावकत्व लिनुपर्ने नैतिक दायित्व बिर्सिएको देखिएको छ र यसबाट अाफ्नै नागरिकलाई निषेध गर्ने राज्यको घिनलाग्दो व्यवहार पनि उदाङ्ग भएको छ । अाफ्ना नागरिकप्रति विभेद र निषेध गर्ने नेपाल सरकारको यो पिशाचनीतिप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ र मोर्चा अाफ्ना नागरिकहरूलाई घर न घाटको अवस्थामा पुर्याउने नेपाल सरकारको यो क्रियाकलापको घोर भर्त्सना गर्दछ ।
लक डाउनको अर्थ अाफ्ना नारिकहरूलाई अपमानपूर्ण व्यवहार गर्दै प्रवेशद्वार बन्द गरेर सिमाना बाहिर अलपत्र छाड्ने हो कि तिनलाई प्रवेश दिएर क्वारेन्टाइनमा राख्ने हो ? भन्ने प्रश्न गर्दै सरकारले अागामी अाइतबारसम्ममा सीमाबाहिर शरणार्थी बनाइएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई ससम्मान नेपालको भूमिमा बस्ने व्यवस्था नगरे मोर्चा बाध्य भएर संयुक्त राष्ट्र संघ , मानवअधिकार समितिमा उजुरी गर्ने जानकारी गराउँछ ।
फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
तपाइँकाे प्रतिक्रिया
