Loading... आजः शनिबार , श्रावण १२, २०८१

चक्रपथ–रत्नपार्क–सातदोबाटो मेट्रोरेलको डीपीआरको तयारी सुरु


नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले चक्रपथ–रत्नपार्क–सातदोबाटो मेट्रोरेल सञ्चालनका लागि डीपीआरको तयारी सुरु भएको जानकारी दिनु भएको छ। शनिबार मन्त्री नेम्वाङले १०० दिने प्रगति विवरण सार्वजनिक गर्दै चक्रपथ–रत्नपार्क–सातदोबाटो मेट्रोरेलको डीपीआरको तयारी सुरु भएको जानकारी दिनु भएको हो। उहाँले आफ्नो सयदिने उपलब्धि गौरव गर्नलायक रहेको दाबी गर्नु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

मन्त्री नेम्वाङले यातायातका पूर्वधारमा उल्लेख्य काम गरेको बताउँदै चालु आर्थिक वर्षको अन्त्यमा यातायात क्षेत्र धेरै व्यवस्थित भइसक्ने दावी गर्नुभयो। सय दिनमा मास प्रिन्टर जडान गरी करिव २ लाख स्मार्ट कार्ड प्रिन्ट गरी वितरण गरिएको प्रगति विवरणमा उल्लेख छ। यस अवधिमा सुदूरपश्चिम तथा कर्णाली प्रदेशभित्रका सबै सेवाग्राहीलाई स्मार्ट लाइसेन्स वितरण भइसकेको उहाँको दावी छ।

जीपीएस प्रविधिको प्रयोग गरी सार्वजनिक सवारी साधनहरुको जीपीएस भेहिकल ट्राकिङ सिस्टम कार्यान्वयनका लागि अध्ययन सम्पन्न भइसकेको प्रगति विवरणमा उल्लेख रहेको छ। सवारी दुर्घटना न्युनीकरण तथा यात्रुको सेवा सुविधाका लागि पहिलो पटक कपिलवस्तुको गोरुसिङगेमा यात्रु रिफ्रेसमेन्ट सेन्टर स्थापना गर्न डीपीआर तयारी गरी खरिद प्रकृया सुरु भएको बताइएको छ।

Insert your Ads code here

जयनगर जनकपुर रेल सेवा सञ्चालनको लागि खरिद गरिएका २ वटा रेलसेट मध्ये १ वटा भारतको चेन्नइमा निर्माण सम्पन्न भइ अन्तिम इन्स्पेक्सन सम्पन्न भएको छ। त्यस्तै अर्को १ सेट समेत निर्माण सम्पन्न हुने चरणमा रहेको मन्त्री नेम्वाङले जानकारी दिनुभयो। चालु आर्थिक वर्षभित्र सो रेलको निर्माण सम्पन्न हुने उहाँको भनाइ छ।

सय दिनमा निजगढ बर्दिबास रेलमार्ग खण्डमा थप २ किमी ट्रयाकबेड निर्माण भएको तथा थप ४ वटा पुलको फाउन्डेसन निर्माण कार्य सम्पन्न भइसकेको मन्त्रालयको दाबी रहेको छ। पूर्वपश्चिम विद्युतीय रेलमार्गको वैकल्पिक खण्ड निजगढ भरतपुर रेलमार्ग खण्डको डीपीआर तयार गर्न सम्झौता भइ कार्य शुरु भएको छ। प्रगति विवरणमा काकरभिट्टा–इनरुवा रेलमार्ग खण्डको बहुवर्षीय ठेक्का व्यवस्थापनको कार्य अगाडि बढेको, रसुवागढी काठमाडौं खण्डको विस्तृत अध्ययनको लागि चीन सरकारसँग सम्झौताको प्रक्रिया अगाडि बढेको र वीरगञ्ज–काठमाडौं रेलमार्ग खण्डको विस्तृत अध्ययन कार्यको लागि भारत सरकारबाट बजेट समेत विनियोजन भइसकेको उल्लेख रहेको छ।

त्यस्तै नारायणगोपाल चोक –रत्नपार्क–सातदोबाटो चोकको मेट्रोरेलको डीपीआर तयारी कार्य सुुरु भएको छ। रेलवेसम्बन्धी विधेयक संसदमा पेश भएको र रेल सेवा सञ्चालनको लागि२२६ जना कामदार नियुक्ति गर्ने प्रक्रिया सुरु भएको छ।

जल यातायातमा भने केही नीतिगत कामबाहेक अरु प्रगति हुन सकेको छैन। पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०७६ को मस्यौदा तयार गरी सम्बन्धित मन्त्रालयहरुमा रायको लागि पठाइएको छ। कालिगण्डकी नदीमा पानी जहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने कार्यको लागि आशय पत्र माग गरिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!