चालू वर्ष नेपालको कुल गार्हस्थ उत्पादन ५.३ प्रतिशतमा सीमित हुने
मुलुकको कुल गार्हस्थ्य उत्पादन चालु आवमा ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण गरिएको छ। उच्च कृषि उत्पादन, पर्यटक आगमन, विप्रेषण आप्रवाहमा भएको बढोत्तरी तथा निजी क्षेत्रबाट भएको लगानी वृद्धिले अघिल्लो वर्ष ७.१ प्रतिशतको हाराहारीमा रहेको थियो। विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस ( कोभिड-१९ ) को जोखिमका कारण यही चैत २५ गतेसम्म देशभर गरिएको लकडाउन, उत्पादन, सेवा क्षेत्र र विप्रेषण आप्रवाहमा ह्रास भई आर्थिक वृद्धि घट्ने प्रक्षेपण गरिएको हो। एशियाली विकास बैंक (एडिबी)ले मनिलामा शुक्रबार सार्वजनिक गरेको ‘एशियाली विकास परिदृश्य’अनुसार कोभिड-१९ को महामारीका कारण उत्पादन र आपूर्ति शृङ्खलामा आउने अवरोधले चालु आर्थिक वर्षमा वार्षिक औसत मुद्रास्फीति ६.० प्रतिशत वृद्धि हुनेछ। चालु आवको पहिला सात महिनामा खाद्य तथा ऊर्जाजस्ता वस्तुको उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको ४.२ प्रतिशतको तुलनामा बढेर औसतमा ६.५ प्रतिशत पुगेको छ।
गत माघको अन्त्यतिर सागसब्जी, मसला र मदिराजन्य पेय पदार्थसहित खाद्य वस्तुको मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले बढेको, कोभिड-१९ का कारण अस्थायी रुपमा गरिएको सीमा बन्दले खाद्यान्नको मूल्य बढाएको, महामारीका कारण स्थिति जटिल बनेमा मुद्रास्फीतिमा थप वृद्धि हुने अन्नपूर्णपोस्टले लेखेको छ। आव २०७६/७७ को पहिला सात महिनामा वस्तु व्यापार घाटा अघिल्लो वर्षको १५ प्रतिशतको विस्तारको तुलनामा ४.९ प्रतिशतले घटेको छ।
भारतमा पाम तेल र अलैँचीको निर्यातसाथ भएको उच्च निर्यात वृद्धि र निर्माण सामग्री, सवारी साधन तथा पेट्रोलियम पदार्थको घट्दो आयातले गर्दा व्यापार घाटामा सङ्कुचन आएको छ। सुधारिएको व्यापार सन्तुलनले गत माघको अन्त्य सम्म चालुखाता घाटा अघिल्लो वर्षको सोही अवधिको रु १ अर्ब ५० करोड डलरबाट १ अर्ब डलरमा राख्न सहयोग पुगेको छ।पेट्रोलियम पदार्थ, पुँजीगत तथा उपभोग्य वस्तुको आयातमा कमी आउँदा यो घाटा आव २०७५/७६ को कुल गार्हस्थ उत्पादनको ७.७ प्रतिशबाट ५.४ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ।यद्यपि चालु आवको अन्तिम त्रयमासमा विप्रेषण आप्रवाहमा कमी आएमा चालुखाता घाटा अझ बढ्ने छ।
कोभिड-१९ चाँडै समाप्त हुने, यसपछिका आर्थिक गतिविधि निर्वाध सञ्चालन हुने र मनसुन सामान्य रहने अनुमानका आधारमा एडिबीले आगामी आवमा नेपालको कुल गार्हस्थ उत्पादन ६.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ।एडिबीले आव २०७७/७८ (सन् २०२१) मा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पुरा हुने र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आउने अपेक्षा गरेको छ।प्रदेश र स्थानीय तहमा हुने उच्च खर्चले पनि आर्थि वृद्धिलाई थप बल प्रदान गर्नेछ। कोभिड-१९ का कारण उत्पन्न अवरोधपछिका गतिविधिहरु सामान्य अवस्थामा फर्कने, कृषि उत्पादन राम्रो रहने र पेट्रोलियम पदार्थको मूल्य घट्ने तथा भारतको मुद्रास्फीतिमा सामान्य वृद्धि हुने अनुमानका आधारमा आव २०७७/७८ मा औसत वार्षिक मुद्रास्फीति ५.५ प्रतिशत रहने अनुमान गरिएको छ।