Loading... आजः शनिबार , श्रावण १२, २०८१

चितवनको महानगर तरकारी बजार खुल्यो


चितवनको भरतपुरमा रहेको ‘महानगर तरकारी बजार’सञ्चालनमा आएको छ। लकडानका कारण चैत १८ गतेबाट बन्द भएको तरकारी बजार शुक्रबारदेखि सञ्चालनमा आएको अनलाइन खबरले लेखेको छ।

हरेक दिन बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्मको लागि बजार खोल्ने निर्णय भएको फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनका अध्यक्ष थीरप्रसाद धितालले जानकारी दिनुभयो। सुरक्षाका उपायहरु अपनाएर भौतिक दूरी कायम गरी सञ्चालनमा ल्याइएको अध्यक्ष धितालले बताउनुभयो। सुरक्षाका सबै सावधानी अपनाएर आएको सामानको समेत रेकर्ड राखिएको अध्यक्ष धितालले बताउनुभयो।

तरकारी बजारको आवश्यक अनुगमन महानगरपालिका र जिल्ला प्रशासन कार्यालयले गर्ने जनाएका छन्। सरकारी मापदण्ड र नीति नियमअनुसार सुरक्षा मापदण्ड अपनाएको छ छैन भनेर हेर्न व्यवसायी स्वंयले निगरानी गर्ने अध्यक्ष धितालले बताउनुभयो।

Insert your Ads code here

व्यवसायीले भरतपुर महानगरपालिका, उद्योग वाणिज्य संघ, किसान, कृषि ज्ञान केन्द्रलगायत सरोकारवालाहरूसँगको पटकपटकको छलफलबाट मात्रै थोक बिक्रीको लागि बजार खोल्ने निर्णय गरिएको उहाँले बताउनुभयो। तरकारी तथा फलफूल व्यवसाय बन्द गर्न नपर्ने भए पनि भिडभाड नियन्त्रण गर्न नसक्ने अवस्था आएको भन्दै बजार बन्द गर्दा यहाँका किसान र उपभोक्ता मर्कामा परेका थिए। चितवनमा अहिले स्थानीय तरकारी उत्पादन अधिक छ।

चितवनकै तरकारीले यहाँको बजार अधिकांश समय धान्ने गरेको दावी उहाँको छ। बर्खाको समयमा यहाँको उत्पादनले धान्दैन। ‘मकवानपुरको पालुङ र काठमाण्डौंको काठ क्षेत्रबाट तरकारी ल्याउँछौं,’ अध्यक्ष धितालले भन्नुभयो, ‘अहिले काउली, बन्दा, आलु, काँक्रो पालुङबाट आउँछ। गोलभेँडा काठमाडौं र काठ क्षेत्रबाट आउँछ, दशैंसम्म यो उत्पादनले धान्छ, असोजपछि बैशाख जेठसम्म चितवनकै उत्पादनले धान्छ।’

बर्खाको समयमा पहाडमा हुने उत्पादनले बजार पाउने गरेको भनाइ अध्यक्ष धितालको छ। गोलभेँडा, परवल लगायतका भारतीय उत्पादन थोरै मात्र कहिलेकाही आउने गरेको उहाँले बताउनुभयो। तरकारीमा स्वदेशी उत्पादनले धाने पनि फलफूल भने भारत र चीनबाट आउने गरेको छ।

चितवनमा तरकारीको पसल खुले पनि फलफूलका पसल भने खुल्न सकेका छैनन्। अहिले चितवनमा केरा, लिची र आँप आदि फलफूलको उत्पादन अधिक छ। स्याउ, अंगुर, अनार जस्ता फलफूल भारतबाट ल्याउने गरिएको छ। ‘नेपालमा फलफूलको उत्पादन अति नै कम छ, बाध्य भएर भारत वा चीनबाट ल्याउनुपर्दछ,’ अध्यक्ष धितालले भन्नुभयो, ‘नेपालमै उत्पादन हुने स्याउलाई यहाँसम्म ल्याउन समस्या हुँदा अर्काको भर पर्नु परेको छ।’

व्यवसायी आफैँ मिलेर खोलेको जिल्लाकै सबैभन्दा ठूलो यो तरकारी बजारमा साधारण अवस्थामा दैनिक १ सय टन तरकारी बिक्रीवितरण हुँदै आएको छ। क्षेत्रपुरमा रहेको तरकारी बजारमा २ सय सटर छन्। ८० वटा तरकारीका, ७० वटा फलफूल, ४० खुद्रा र १० वटा किसानलाई निःशुल्क तरकारी बेच्न दिने सटर छन्। देशभरका १७ जिल्लाबाट तरकारी आयात निर्यात गर्दै आएको यो बजारबाट दैनिक करिब ५० लाख रूपैयाँ बराबरको आर्थिक कारोबार हुन्छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!