Loading... आजः आइतबार , बैशाख १४, २०८२

चिनियाँ कामदार नआउँदा तनहुँ जलविद्युतको काम प्रभावित


नयाँ वर्ष मनाउन स्वदेश फर्किएका चिनियाँ कामदार नफर्किंदा तनहुँ जलविद्युत् आयोजनाको काम प्रभावित बनेको छ। आयोजनाको दोस्रो प्याकेजअन्तर्गत विद्युत् गृहको केवल टनेल बनाउने जिम्मा पाएको सिनो हाइड्रो कर्पोरेसनका प्राविधिक र केही कामदार आउन नसक्दा काम प्रभावित बनेको आयोजनाका साइट इञ्चार्ज इन्जिनियर विदुर अधिकारीले जानकारी दिनु भएको अनलाइन खबरले लेखेको छ।

इन्जिनियर अधिकारीका अनुसार, ४० जना चिनियाँ प्राविधिक कामदारमध्ये २० जनाले मात्रै काम गरिरहेका छन् भने बाँकी १८ जना फर्किन सकेका छैनन्। दुई कर्मचारी फर्किए पनि ठेकेदार कम्पनी सिनो हाइड्रोले आफ्नै आइसोलेसनमा नियमित स्वास्थ्य परीक्षण गरी काममा खटाएको छ।’चीनबाट प्राविधिक आउन नपाउँदा काम नै रोकिएको त छैन,’ इन्जिनीयर अधिकारीले भन्नुभयो, ‘पुराना तथा नयाँ कर्मचारी र आवश्यक सामग्रीहरू ल्याउन नपाउँदा काममा केही असर पक्कै परेको छ।’ यसले आयोजना निर्माणको समयसीमालाई दबावमा राख्ने इन्जिनियर अधिकारीले बताउनुभयो। आयोजनामा अहिले २ सय जना नेपाली कामदार कार्यरत छन्।

तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका–१, झापुटारमा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको केवल टनेल बनाउने काम भइरहेको छ। आयोजनाको दोस्रो प्याकेजअन्तर्गत सिनोले सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति र जडानको काम गर्नेछ।

Insert your Ads code here

कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाख (मूल्य अभिवृद्धि करबाहेक) मा खरिद सम्झौता भएको हो। आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्युत् गृह निर्माण गरिने छ।

आयोजनाबाट सुख्खायाममा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन हुने बताइएको छ। आयोजनाको कामलाई तीन प्याकेजमा बाँडिएको छ। पहिलो ड्याम निर्माण, दोस्रोमा पावर हाउस, टनेल र तेस्रो ट्रान्समिसन लाइन निर्माण छ।

आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख रहेको छ। यसमध्ये एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रि«य सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, ईआईबीले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले आठ करोड ७० लाख अमेरिकी डलर ब्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ।

आयोजनाको विद्यृतगृह निर्माणका लागि २८ करोड ८० लाख डलर, प्रसारण लाइन तथा सबस्टेशन निर्माणका लागि एक करोड ५० लाख डलर, ग्रामीण विद्युतीकरणका लागि ८० लाख डलर, जग्गा प्राप्ति तथा पुनःस्थापनाका लागि तीन करोड मिलियन डलर, वातावरण व्यवस्थापनका लागि दुई करोड १० लाख डलर, पूर्वाधार निर्माण तथा भन्सार एवं कर प्रयोजनका लागि चार करोड ६० लाख डलर, आयोजना व्यवस्थापन तथा सामुदायिक कार्यक्रमका लागि २ करोड ५० लाख डलर खर्च हुने अनुमान छ। यस्तै, आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डवल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ। सो कम्पनीले डिजाइन फाइनल गरेर रूख गणना, जग्गाको नाप नक्साको काम गरिरहेको आयोजनाका इन्जिनियर विदुर अधिकारीले जानकारी दिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!