Loading... आजः शनिबार , श्रावण १२, २०८१

चिनियाँ सहयोगमा तयार भयो दरबार हाई स्कुल


चिनियाँ सहयोगमा भूकम्पले ध्वस्त भएको दरबार हाई स्कुलको नयाँ भवन बनेको छ। चीनको सांघाई कन्स्ट्रक्सनले ५२ कोठाको चारतले भव्य भवन बनाइदिएको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का उपनिर्देशक दिलीपशेखर श्रेष्ठले अबको दुई महिनाभित्र नवनिर्मित भवन हस्तान्तरण हुने कार्यतालिका रहेको बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

‘चीनबाट विज्ञ टोली आएर परीक्षण गरेलगत्तै चीनले सरकारलाई भवन हस्तान्तरण गर्नेछ,’ उहाँले भन्नुभयो। चीनकै कन्सल्ट्यान्ट र ठेकेदारले ८५ करोड रुपैयाँ लागतमा भवन बनाएका हुन्। नयाँ भवनमा ४० जनाका दरले विद्यार्थी अट्ने ४६ वटा कोठा छन्। हरेक विद्यार्थीलाई अलग–अलग कुर्सी र टेबलको व्यवस्था गरिएको छ। पुस्तकालय, सभा हल, स्टाफ हल, लेखा तथा प्रशासन कक्ष, क्यान्टिन, खानेपानी र शौचालय छन्।

नयाँ भवनमा २०७७ वैशाखबाट पठनपाठन हुनेछ। साबिकको व्यवस्थाअनुसार नयाँ भवनमा भानु माध्यमिक विद्यालय र संस्कृत मावि सञ्चालन हुनेछन्। तर, तिनको सञ्चालन कसरी गर्ने भन्ने अन्योल छ। यसअघि गठित विद्यालय व्यवस्थापन समितिको म्याद सकिइसकेको र नयाँ समिति गठन भई नसकेकाले सञ्चालनमा अन्योल भएको हो। ‘व्यवस्थापन समितिको म्याद सकिएको धेरै भयो, नयाँ गठन हुन सकेको छैन,’ प्रधानाध्यापक हेमचन्द्र महतोले भन्नुभयो ‘महानगरको शिक्षा विभागले चाँडै गर्ने भनेको छ।’ नियमानुसार विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावक व्यवस्थापन समितिमा रहनुपर्ने हुन्छ।

Insert your Ads code here

भानु माविमा अधिकांश विद्यार्थी काठमाडौंबाहिरबाट आएर व्यापार, व्यवसाय र मजदुरी गर्ने अभिभावकका छोराछोरी छन्। यहाँ शिशु कक्षादेखि १० कक्षासम्म पढाइन्छ। प्रधानाध्यापक महतोका अनुसार शैक्षिक सत्र ०७६ मा १ सय ५० विद्यार्थी भर्ना भएकामध्ये १ सय ३० जना मात्र नियमित छन्। मावि तहका ८, निमाविका ४, प्राविका ६ र निजी स्रोतका ३ गरी २० शिक्षक र ४ जना कर्मचारी छन्।

संस्कृततर्फ कक्षा ६ देखि ११ सम्म पढाइ सुचारु छ। संस्कृत माविका प्रधानाध्यापक शिवराज अधिकारीका अनुसार चालु शैक्षिक सत्रमा १० कक्षासम्म १ सय ३५ विद्यार्थी छन्। तीमध्ये धेरै उपत्यकाबाहिरका छन्। मावि तहका १२, निमाविका ३ र निजी स्रोतका ३ जना तथा ६ जना कर्मचारी कार्यरत छन्। ‘संस्कृति माविको व्यवस्थापन समिति नयाँ गठन प्रक्रियामा छौं,’ प्रधानाध्यापक अधिकारीले भन्नुभयो ‘अभिभावकको नामावली प्रकाशन गर्दै छौं। अझै तीन साता जति लाग्न सक्छ।’

महानगरपालिकाको शिक्षा विभागका निमित्त शिक्षा अधिकारी तारापति खरेलले दरबार हाई स्कुल सरकारको स्वामित्वमा आएलगत्तै नियमित प्रक्रियाअनुसार पठनपाठन सुरु हुने बताउनुभयो। ‘दुवै विद्यालयको व्यवस्थापन समिति चाँडै गठन गरिनेछ,’ उहाँले भन्नुभयो, ‘नियमित रूपमै सञ्चालनमा रहेकाले खासै समस्या आउँदैन। जति विद्यार्थी भर्ना भए पनि शिक्षक पर्याप्त छन्। शैक्षिक गुणस्तरचाहिँ सुधार गर्नुपर्छ।’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरबार हाई स्कुलको नयाँ भवनमा भानु मावि र संस्कृत मावि दुवै सञ्चालन गरिने जनाएको छ। यसअघि संस्कृत माविले जग्गाको स्वामित्व भानु माविको नाममा मात्र भएको भन्दै बराबरी हिस्सा माग गरेको थियो। त्यसपछि मन्त्रालयले सहसचिव कृष्णप्रसाद काप्रीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। ‘ऐतिहासिक विद्यालय भएकाले एकै छानोमुनि दुई विद्यालय सुचारु रहन्छन्,’ उहाँले भन्नुभयो, ‘सम्पत्ति स्वामित्व दरबार हाई स्कुलको नाममा छ। दुवैको अस्तित्व रहने गरी आधा संरचना भानु मावि र आधामा संस्कृत मावि सञ्चालन हुनेछन्।’

महानगरपालिका वडा नं २७ वडाध्यक्ष चिनियाँमान बज्राचार्यले भने नयाँ भवनमा कसरी पठनपाठन सञ्चालन गर्ने भन्नेबारे छलफल हुन बाँकी रहेको बताउनुभयो। सुविधासम्पन्न नयाँ भवन बनेकाले वरिपरिका अन्य सरकारी विद्यालयसमेत गाभ्न सकिने उहाँको तर्क छ। १९४८ सालमा बनाइएको दुईतले भवन भूकम्पले भत्किएपछि दुवै विद्यालयका विद्यार्थीलाई प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको हातामा अस्थायी टहरामा सारेर पढाइँदै आएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!