चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेमाथिको संसदीय सुनुवाइ आज सोमबार भएपछि नाम अनुमोदन भएको छ। फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई चीनका लागि आवासीय, उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले फागुन २८ गते पाण्डेविरुद्ध सार्वजनिक गुनासो तथा उजुरी आह्वान गरेको थियो। पाण्डेविरुद्ध आइतबारसम्म संसदीय सुनुवाइ समिति सचिवायलयमा कुनै पनि उजुरी परेको छैन। समिति सचिवालयले कुनै पनि उजुरी नपरेपछि सोमबार बैठक बोलाइएको कान्तिपुर अनलाइनले लेखेको छ।
संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीका अनुसार सोमबार दुई वटा बैठक बसेको थियो। पहिलो बैठकमा उजुरीबारे छलफल भएको र पाण्डेविरुद्ध उजुरी नपरेकाले प्रक्रिया पूरा गरेर लगत्तै दोस्रो बैठकले उहाँको नाम अनुमोदन गरेको हो।
पाण्डेलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको हुनाले अब राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई राजदूतमा नियुक्त गर्नुहुनेछ। चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई सिफारिस गरिएको थियो। चीनमा कोरोना भाइरसको संक्रमण फैलिएको नेपालमा पनि त्यसको त्रास बढिरहेका बेला पाण्डेलाई राजदूतका रूपमा चीन पठाउन थालिएको हो। चीनले कोरोना संक्रमणविरुद्ध लड्न नेपाललाई सहयोग गर्ने प्रस्ताव गरेको छ। त्यसका लागि समन्वय गर्न पाण्डेलाई छिटो चीन पठाउने सरकारको तयारी छ।