Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनको उहानमा रहेका नेपालीलाई फागुन ३ मा स्वदेश ल्याइने


कोरोना भाइरसको प्रकोप फैलिएको चीनको उहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ। फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो। नेपाल ल्याउन लागिएकामध्ये अधिकांश विद्यार्थी रहेको गोरखापत्र अनलाइनले लेखेको छ।

मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सरकारले चीनमा रहेका नेपालीलाई फागुन ३ गते ल्याउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनमा रहेका नेपालीलाई फागुन ३ गते नेपाल ल्याउने जानकारी दिनुभयो। मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालले चीनबाट नेपाल ल्याइने नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने जानकारी दिनुभयो। उहाँले १४ दिनसम्म क्वारेन्टाइनमा राख्दा कोरोना भाइरसको लक्षण नदेखिएमा मात्र घर जान दिने बताउनुभयो।

नेपाल सरकारको एकल निर्णयले मात्रै चीनबाट नेपाली ल्याउन पाइँदैन। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को सम्पूर्ण मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता दाहालले नेपालका लागि यसखालको उद्धार कार्य पहिलो अभ्यास भएको जानकारी दिँदै प्राविधिक, स्टेरिन समितिले काम गरिरहेको बताउनुभयो।

Insert your Ads code here

नेपालमा स्रोत र साधन पर्याप्त मात्रामा नरहेको हुनाले पनि ढिलाइ भएको स्पष्ट गरिएको छ। चीनमा कोरोना भाइरसको सङ्क्रमण रोकिएको छैन। त्यसलाई ध्यान दिई सङ्क्रमण भित्रिनै नदिन नेपालमा छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने हुन्छ। यसअघि बाहिर गएर आएका केही नेपाली सेना र प्रहरीलाई मात्र क्वारेन्टाइन व्यवस्था गरिएकोमा योपटक नागरिकलाई समेत पहिलोपटक क्वारेनटाइनमा राख्नुपर्ने भएकाले ढिलाइ भएको जनाइएको छ। क्वारेन्टाइन भएको स्थानमा खान, बस्न, बिजुली, शौचालय, इन्टरनेट लगायतका सुविधाको व्यवस्थापन गर्नुपर्ने हुन्छ।

चीनबाट लक्षण नदेखिएका नेपालीलाई मात्र नेपाल ल्याइन्छ। लक्षण देखिएका व्यक्तिलाई चीनमै आइसोलेसनमा राखेर उपचारको व्यवस्था गरिएको छ। लक्षण नदेखिएका व्यक्तिलाई नेपाल ल्याइने हुनाले छुट्टै क्वारेन्टाइनको व्यवस्था गरी दुई सातासम्म उनीहरूलाई निगरानीमा राख्नुपर्ने हुन्छ। नेपालको विमानस्थलमा अवतरण गरिसकेपछि पनि उनीहरूको स्वास्थ्य परीक्षण गरिन्छ। त्यो अवस्थामा लक्षण देखिएमा उनीहरूलाई सीधै आइसोलेसन भएका अस्पतालहरूमा लैजाने व्यवस्था गरिएको छ। चीनबाट ल्याइने विद्यार्थी र अन्य व्यक्तिहरूसंँगको सम्पर्क पूर्ण रूपमा बन्द गरिन्छ।

चीनबाट ल्याइने विद्यार्थीलाई विमानस्थलदेखि क्वारेन्टाइनसम्म लैजान यातायात साधनको व्यवस्था मिलाइसकिएको छ। एम्बुलेन्स चालकलाई उद्धारका क्रममा अपनाउनुपर्ने सचेतताका विषयमा प्रशिक्षणको काम सम्पन्न भइसकेको छ। यीबाहेक चिकित्सक, नर्सलाई समेत तालिमको व्यवस्था गरिएको छ।

सरकारले सम्भावित बिरामीलाई उपचार गर्न छवटा हब अस्पताल र ३० वटा स्याटेलाइट अस्पतालमा गरी १४७ वटा आइसोलेसन वार्डको व्यवस्था गरिसकेको छ। वीर, सिभिल, पाटन, शिक्षण, सैनिक र भक्तपुर अस्पताललाई अब अस्पतालका रूपमा विस्तार गरिएको छ। सहायक प्रवक्ता दाहालका अनुसार नेपालीलाई ल्याउने विषयमा सरकार संवेदनशील भएर अगाडि बढिरहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!