Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनको शासनशैली अनुकरणीय रहेको चीनका लागि नेपाली राजदूतको भनाइ


चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले वर्तमान चीनको शासन प्रणाली अनुकरणीय रहेको बताउनु भएको छ। सन् २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनले खुलापन, राजनीतिक प्रगति, इकोलोजिकल (वातापरणीय) संरक्षण, आर्थिक विकासबाट सामाजिक रूपान्तरणको कुरा उठाएको भन्दै राजदूत पाण्डेले राष्ट्रपति सी चिनफिङको शासनका पुस्तकहरूमा पनि यी कुरा उल्लेख रहेको चर्चा गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

शनिबार बेइजिङस्थित नेपाली दूतावासमा भेला भएका नेपाली समुदायमाझ छैटौँ संविधान एवं राष्ट्रिय दिवसको सन्दर्भमा उहाँले भन्नुभयो, ‘हरेक समाजको छुट्टै अर्थतन्त्र, छुट्टै संस्कृति, छुट्टै मूल्य मान्यता, छुट्टै सामाजिक संरचना हुने भएकाले त्यही हिसाबले जनतालाई बढी भन्दा बढी प्रजातान्त्रिक अधिकारको अभ्यास गर्न सक्ने बनाउनका निम्ति हामीले पनि सोच्नुपर्छ कि भन्ने मलाई लाग्छ।’

नेपालमा समयानुकूल संविधान परिमार्जन गर्दै अगाडि बढ्न सक्नुपर्ने विचार राख्दै राजदूत पाण्डेले ‘ग्रासरूट’को मान्छेलाई कसरी परिचालन गरेर राज्यशक्तिको अभ्यास गर्न सकिन्छ, कसरी छलफल र चुनावी प्रक्रियाबाट हरेकको सहभागितामार्फत् जनताका इच्छा, आवश्यकता, दृष्टिकोण बुझ्न सकिन्छ र समग्र जनता परिचालनको तरीका मार्फत् कुनै न कुनै रूपले राज्यशक्तिको अभ्यास गराउन सकिन्छ र समाजवादसम्म पुग्‍न सकिन्छ भन्ने कुरा चीनको शासन शैलीबाट बुझ्न सकिने बताउनुभयो।

Insert your Ads code here

नेपाल र चीनबीचको सम्बन्ध सुरूमा धार्मिक गुरूहरूको आदानप्रदान, त्यसपछि व्यापार, त्यसपछि कलाकारहरूको योगदान र हाल राजनीतिक वैचारिक आदानप्रदानले विकसित हुँदै गएको उहाँले औँल्याउनुभयो। नेपाल र चीन सम्बन्ध पारस्परिक हित, समानता, समझदारी र सम्मानमा आधारित भएर चलिरहेको बताउँदै उहाँले भुइँचालो जाँदा चीनको निःस्वार्थ सहयोग जस्तै नेपालले पनि चीनमा कोरोना देखिँदा गच्छेअनुसार १ लाख मास्क पठाएको स्मरण गर्नुभयो। हाल चीनले गरेको मेडिकल सामग्री सहायता नेपाल पठाउन दूतावासले सहजीकरण गरिरहेको उहाँले सुनाउनुभयो।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमण र नेपालका राष्ट्रपति, प्रधानमन्त्री लगायतबाट भएको चीन भ्रमणले आपसी सम्बन्ध अझै प्रगाढ हुँदै गएको भन्दै उहाँले कूटनीतिक संस्थाहरूको स्तरोन्नति गर्न लागिएको बताउनुभयो। नेपाल सरकारले चीन, भारत र अमेरिकाका राजदूतावासमा मन्त्रीस्तरको हैसियतमा कूटनीतिज्ञ पठाएकाले त्यही हिसाबले चीनस्थित नेपाली दूतावासलाई अघि बढाउनुपर्ने, सबैले असल अनुशासन कायम गर्न सचेत हुनुपर्ने पनि उहाँको ठहर थियो।

अर्को प्रसंगमा उहाँले नेपालमा राणाशासनदेखि गणतान्त्रिक आन्दोलनसम्म आइपुग्दा प्राप्त भएका उपलब्धिहरू कार्यान्वयन तथा शासन पद्धित उचित तरिकाले हुन नसकेमा परिणाम हात नलाग्ने बताउनुभयो। उहाँले नेपलामा मौलिक अधिकार प्राप्त रहेपनि सफल अभ्यास नभएबाट उत्पन्न हुने परिणतिबारे विश्वका इतिहासका घटनाबाट सिक्नु उपयुक्त हुने सुझाउनुभयो।

उहाँले भन्नुभयो, ‘शासन पद्धति ठिक तरिकाले चलेन भने कुनै न कुनै तानाशाह जन्मिन्छ भन्ने उदाहरण फ्रान्सका एक सिपाहीबाट सुरू भएका नेपोलियन बोनापार्टको उदयले देखाउँछ। विश्वका विभिन्न देशको घटनाहरूबाट पनि यो चाल पाउन सकिन्छ।’

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!