चीनद्वारा नेपालले किन्न चाहेकामध्ये तत्काल उपलब्ध हुने स्वास्थ्य सामग्रीको सूची प्रदान
अब समितिले थप छलफल गरेर खरिद प्रक्रियाको टुंगो लगाउँनेछ। चीनले उपलब्ध गराएको सूची अनुसार स्वास्थ्य सामग्री खरिद र भुक्तानीको प्रक्रिया टुंगो लगाउन मन्त्रिपरिषदमा पठाइनेछ। नेपालले जीटूजी प्रक्रियाबाट सेनामार्फत ल्याउने सामग्रीको अन्तिम सूचीका बारेमा सोमबार चिनियाँ पक्षसँग भिडियो कन्फ्रेन्समा छलफल पनि गरिएको थियो।
नेपालले ५ देशबाट स्वास्थ्य सामग्री खरिदका लागि पत्र पठाएको भएपनि चीनले मात्रै नेपाललाई आवश्यक सामग्री उपलब्ध गराउन तयार रहेको जानकारी पठाएको हो। नेपालले भारत, चीन, सिंगापुर, दक्षिण कोरिया र इजरायलसँग ती सामग्री किन्ने प्रस्ताव पठाएको थियो।
भारतले ६० प्रकारका औषधि अनुदानमा दिँदै
यसैबीच, भारतले नेपाललाई ६० प्रकारका औषधि अनुदानमा उपलब्ध गराउने भनेको छ। तर ती औषधि कोरोना संक्रमितका लागि नेपालले मागेको सूची अनुसारका हुन् कि होइनन् भन्ने प्रस्ट छैन। भारतले ती सामग्री नयाँ दिल्लीस्थित नेपाली दूतावासमा नै उपलब्ध गराउने जानकारी गराएको छ।
सिंगापुरले भने जीटूजी प्रक्रियाबाट औषधि खरिदका लागि नेपालले पत्राचार गरे पनि त्यहाँका औषधि उत्पादक कम्पनीको सूची मात्रै पठाएको थियो। त्यसपछि सिंगापुरसँग छलफल अघि बढेन। इजरायलले पनि हालसम्म केही प्रतिक्रिया दिएको छैन।
दक्षिण कोरियाले तत्काल नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्ने बताएको छ।
यसअघि सरकारले टेन्डर प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद गर्दा ओम्नी समूहले प्रतिबद्धताअनुरुप सामग्री समयमा उपलब्ध नगराएको भनी सो कम्पनीसँगको सम्झौता रद्द गरेको घोषणा गरेको थियो।
स्वास्थ्य मन्त्रालयले सो निजी कम्पनीसँग सम्झौता रद्द गरेपछि जीटूजी प्रक्रियाबाट नेपाली सेनामार्फत स्वास्थ्य सामग्री खरिद गर्ने बताएको थियो।