Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनबाट आयात सुरू भएसँगै रसुवा भन्सार कार्यालय संचालनमा


रसुवा भन्सार कार्यालय टिमुरेले भन्सार जाँचपास सुरु गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को प्रभावले गत फागुन महिनाको १५ गतेदेखि बन्द रहेको नाका गत सोमबार एकतर्फी सञ्चालनमा आएपछि भन्सार जाँचपास सुरु भएको गोरखापत्र अनलाइनले लेखेको छ।

रसुवागढी नाका हुँदै चीनबाट आएका सामानको आइतबारदेखि भन्सार जाँचपास सुरु भएको हो। रसुवा भन्सार कार्यालयका भन्सार प्रमुख पुण्यविक्रम खड्काका अनुसार आइतबार ५८ लाख रुपियाँ राजस्व उठेको थियो भने सोमबार १२ लाख रुपियाँ राजस्व उठेको छ।

सिमेन्ट उद्योगका सामान र सोमबार सोलारका सामग्री बोकेका कन्टेनर जाँचपास भएका छन्। एकतर्फी नाका खुलेको एक साता पुगे पनि व्यापारीले आफ्नो सामानको भन्सार जाँचपास गरेका छैनन्। नाकासम्म व्यापारी आउन कठिन भएको छ। कामदार र गाडी भाडामा मूल्यवृद्धि भएकोले व्यवसायीले सामान जाँचपासमा ढिलाइ गरेका हुन्। रसुवागढी भन्सार यार्डमा करिब ५० वटा कन्टेनरमा व्यापारीका सामान रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ।

Insert your Ads code here

बन्द रहेको नाका सञ्चालन गर्न चौतर्फी दबाबपछि गत सोमबार चीनले एकतर्फी रूपमा नाका सञ्चालन गरेको थियो। नाकामा दैनिक चारवटा चिनियाँ सवारीले सामग्री आयात गरिरहेका छन् भने आएका सामग्रीलाई नाकाबाट दैनिक आठवटा नेपाली कन्टेनरले सामान लोड गरी भन्सार यार्डसम्म ल्याउने गरेका छन्। चिनियाँ पक्षले दैनिक आफ्नो चारवटा गाडीमा रसुवागढी नाकाको मितेरी पुलसम्म सामान ल्याई झार्ने र त्यहाँबाट चिनियाँ गाडी फर्किएपछि मात्र नेपाली सवारी त्यहाँ जान पाउने व्यवस्था मिलाइएको छ।

रसुवागढी नाकामा दैनिक २५० भन्दा बढी कन्टेनर तथा सवारी साधन आवतजावत गर्ने गरेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। व्यापारीले भने राजस्व असुली गरेअनुरूप सरकारले सडकमार्ग स्तरोन्नति नगरेकोले खराब बाटोमा जोखिममा आवतजावत गर्नुपर्ने गुनासो गरेका छन्। बर्सेनि अर्बौं राजस्व असुली गर्ने नाका पुग्न निकै कठिन छ। सडक मार्ग स्तरोन्नति हुन सके राजस्व असुली धेरै बढ्छ व्यवसायी धर्मराज पौडेलले बताउनुभयो।

विनाशकारी भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि २०७२ मङ्सिरदेखि रसुवागढी नाकाबाट चीनतर्फ सामग्री आयात तथा निर्यात हुँदै आएको छ।

चीनबाट तयारी कपडा, स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, प्लास्टिकका सामग्रीहरू आयात हुने गरेको छ। नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहेन्दी, दन्तमन्जन, शृङ्गारका सामान, चाउचाउ, पास्ता, जुस जाम, चकलेट, उनी गलैँचा कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिम लगायतका मुख्य वस्तुहरू निकासी भइरहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!