Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनबाट पठाइएका दुई हजारलाई परीक्षण किट आइतबार साँझ काठमाडौं पुग्ने


चीनबाट ल्याइने दुई हजार जनालाई कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न पुग्ने किट भोलि आइतबार साँझ काठमाडौं पुग्ने भएको छ।

शुक्रबारदेखि चीनतर्फको दुई नाका खुलेपछि चीनले सहयोग गर्ने भनेको किट शनिबार बिहान बेइजिङबाट पठाइएको कान्तिपुर अनलाइनले लेखेको छ।’शनिबारसम्म ल्याउने योजना भए पनि बेइजिङबाट हिंड्न ढिला भयो। आइतबार बिहान तातोपानी आइपुग्छ। साँझमा काठमाडौं आइपुग्छ,’ भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्नुभयो, ‘चिनियाँ नाकाबाट यो सामानभन्दा अघि अरु कुनै सामान आउने सम्भावना छैन।’

‘ती सामग्रीको भन्सार छुट दिने निर्णय भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘नाका खुलेपछि चीनबाट आयात हुने पहिलो सामग्री हुन्।’ माघ १५ गतेबाट चीनतर्फका दुवै नाका बन्द छन्। नाकामा कोरोना परीक्षण तथा त्यससँग अन्तरसम्बन्धित सबै काम स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले गर्नेछन्। ‘हामीले सहजीकरण गरिदिने हो,’ उहाँले भन्नुभयो, ‘हामीलाई प्राप्त जानकारीअनुसार चीनको सहगोबाट प्राप्त हुने ती किटले दुई हजार जनाको परीक्षण गर्न मिल्नेछ।’

हालसम्म नेपालमा ८ सय जनामा कोरोना परीक्षण भइसकेको छ। नेपालमा कोरोना फैलनुपूर्व नै करिब २ हजार जनालाई पुग्ने किट थियो। अब करिब १२ सय जनालाई परीक्षण गर्न पुग्ने किट छ। कोरोना संक्रमण नेपालमा पनि फैलिन थालेपछि चीनबाट आउन लागेको यो किट हो। भन्सार नाका खुलेपछि ल्याउन सजिलो भएको विभागले जनाएको छ।

Insert your Ads code here

भन्सार विभागका महानिर्देशक दाहालका अनुसार अब चीनको रसुवागढी र तातोपानी नाकाबाट क्रमशः आयात खुल्नेछ। कोरोना रोकथाम, परीक्षण तथा उपचारका लागि अत्यावश्यक स्वास्थ्य उपकरण र औषधिहरू आयात गर्नलाई उच्च प्राथमिकतामा राखी भन्सार जाँचपास गर्ने तयारी गरिएको उहाँले बताउनुभयो। ‘तर औषधि र अन्य कुनै अत्यावश्यक सामग्रीबाहेकलाई १४ दिन क्वारेन्टाइनमा राखेर मात्रै सामान नेपाल भित्र्याउन दिनेछौं,’ उहाँले भन्नुभयो।

माघ १५ देखि बन्द चीनतर्फका दुई नाका रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका शुक्रबारबाट खुला भएका हुन्। ‘सामान ओसारपसारमा संलग्न ड्राइभर, कामदार तथा कर्मचारीहरूलाई कोरोना भाइरस संक्रमणको जाँच गरेर मात्रै आवतजावत गर्न दिनेछौं,’ दाहालले भन्नुभयो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत बुधबार रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो।

चीनतर्फ रसुवागढी नाकामा नेपालका लागि हिँडेका करिब २ सय कन्टेनर रोकिएको दुई महिनाभन्दा बढी भयो। चिनियाँ पक्षले नेपाललाई उक्त कारण देखाउँदै नाका खोल्न भनिरहेको थियो। नेपाल आयात हुने धेरैजसो सामग्री २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट आउने गरेका थिए। यो नाकालाई २०७४ भदौ १४ गते चीन सरकारले ‘अन्तर्राष्ट्रिय नाका’घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीसाधनको चाप बढ्दै गएको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!