चीनबाट फर्काइने नेपालीलाई अलग्गै राख्ने स्थानको खोजी हुँदै
चीनमा नोवल कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी भएसँगै उनीहरूलाई नेपालमा राख्ने सुरक्षित स्थानको खोजी तीव्र पारिएको छ। कथं उनीहरूमा कोरोना भाइरसको संक्रमण रहेछ भने अरूलाई नसरोस् भनेर सुरुमा सुरक्षित रूपमा अलग्गै राख्नुपर्ने भएकाले अहिले त्यस्तो स्थानको धमाधम खोजी भइरहेको नेपाल खबर अनलाइनले लेखेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चीनबाट स्वदेश फर्काइने नेपालीलाई सीधै घर जान दिइने छैन। कम्तीमा उनीहरूलाई २ हप्ता अन्यसँग सम्पर्क र लसपस नहुने अलग्गै स्थानमा राखिनेछ।’त्यसका लागि अहिले हामी धमाधम स्थान खोजिरहेका छौं,’ प्रवक्ता श्रेष्ठले आइतबार बिहान भन्नुभयो, ‘सेनाका ब्यारेक, विभिन्न सरकारी तालिम केन्द्र, विद्युत् प्राधिकरणजस्ता स्थान हामीले हेरिरहेका छौं।
उहाँका अनुसार काठमाडौं नजिकका सशस्त्र प्रहरीको ककनी र मातातीर्थ तालिम केन्द्र तथा सेनाको पाँचखालस्थित यूएन ट्रेनिङ सेन्टरलाई सम्भावित ठाउँका रूपमा हेरिएको छ। यसैगरी ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज, भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र, नगरकोट जाने बाटोमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्र र कीर्तिपुरस्थित आयुर्वेद तालिम केन्द्रलाई समेत क्वारेन्टाइन स्थलमा प्रयोग गर्न सकिने ठाउँका रूपमा पहिचान गरिएको उहाँले बताउनुभयो।
चीनको हुवेई प्रान्तका उहानलगायत चार/पाँच सहरका गरी १ सय ७७ नेपालीलाई स्वदेश फर्काउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। कोरोना भाइरस संक्रमण भए पनि त्यसका लक्षण देखिन कम्तीमा १४/१५ दिन लाग्ने भएकाले यस अवधिभर ती नेपालीलाई क्वारेन्टाइनमा राख्न यी स्थानको खोजी गरिएको हो। प्रवक्ता श्रेष्ठका अनुसार नोवल कोरोनाको प्रकोप फैलिएको चिनियाँ भूभागबाट स्वदेश फर्काइने नेपालीहरूलाई १५ दिनसम्म चिकित्सकीय सुविधासहितको क्वारेन्टाइनमा राखिने छ।
कोरोना थप नफैलियोस् भनेर अन्य देशले चीनबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन् भने चीन भ्रमणमा जान पनि रोक लगाएका छन्।
तपाइँकाे प्रतिक्रिया
