Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

चीनबाट लगिएका स्वास्थ्य सामग्रीले डेढ घन्टाभित्रै कोरोना संक्रमण थाहा हुने


नेपालले आइतबार चीनबाट ल्याएको पिसिआर मेसिनले कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण भए-नभएको डेढ घन्टाभित्रै जाँच्न सक्नेछ। आइतबार चीनबाट आएका पाँच वटा हातैमा बोक्न मिल्ने पिसिआर मेसिनमध्ये सरकारले चार वटा प्रदेशहरूलाई वितरण गर्ने निर्णय गरेको छ। यो मेसिनको तौल १० किलोग्राम छ।

मेसिनलाई सजिलै बोकेर एक ठाउँबाट अर्को ठाउँ लैजान सकिन्छ। यहीँ मेसिनलाई प्रयोग गरेर सरकारले कोरोना परीक्षणको दायरालाई बढाउने छ। यसले परीक्षणलाई छिटो बनाउने छ। ‘यो मेसिनले अहिले परीक्षण भइरहेकोजस्तो लामो समय लिँदैन। यसले डेढ घन्टामै नतिजा दिन सक्छ,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रूना झाले भन्नुभएको सेतोपाटी अनलाइनले जनाएको छ।

झाका अनुसार अहिले प्रयोगशालामा नतिजा आउन २४ देखि ४८ घन्टा लाग्छ। यो पोर्टेवल पिसिआरमा परीक्षणको लागि चाहिने भनेको रिएजेन्ट हो। यो एक प्रकारको रसायन नै हो। सरकारले यो मेसिनको लागि चाहिने २० हजार वटा रिएजेन्ट ल्याएको छ। राष्ट्रिय प्रयोगशालाले आइतबारसम्म दिएको तथ्यांक हेर्ने हो भने अहिलेसम्म जम्मा ९ सय १७ जनाको मात्र परीक्षण गरिएको छ।

Insert your Ads code here

सरकारले चीनबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका लागि भनेर १० हजार पिसिआर रिएजेन्ट पनि ल्याएको छ। अब नेपालसँग जम्मा ३० हजार मानिसको नमूना परीक्षण गर्न सक्ने क्षमता स्थापित भएको छ। अहिले प्रयोगशालामा दैनिक ५० देखि ६० जनाको परीक्षण भइरहेको छ।

अब पोर्टेवल पिसिआर मेसिनबाट सरकारले परीक्षणलाई सहज र फराकिलो पार्न सक्छ। पोर्टेवल पिसिआर मेसिनले दिएको ‘नेगेटिभ’ नतिजा विश्वसनीय नै हुने भए पनि ‘पोजेटिभ’ नतिजा भने शतप्रतिशत विश्वासनीय नहुन सक्छ। नेगेटिभ नतिजामात्र पनि परीक्षण गर्न सके पनि यसले राष्ट्रिय प्रयोगशालामा कामको भार घटाउन सहयोग पुर्याउने छ।

आइतबारबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना परीक्षण सुरू गरिएको छ। नेपालमा कोरोना संक्रमितको संख्या विस्तारै बढेको भन्दै विज्ञहरूले समेत सरकारले परीक्षणमा जोड दिनुपर्ने बताउँदै आएका छन्।

संक्रमित भएका जति सबै मानिसलाई ‘लकडाउन’को समयावधिमा परीक्षण गरेर छुट्टै राख्न सकेमात्र लक डाउन गरेको अर्थ हुनेछ। पाँच वटा मेसिनमध्ये सरकारले प्रदेश-२ मा एक थान, बुटवल वा नेपालगन्जमा रहने गरी एक थान, सुर्खेतमा रहने गरी एक थान र सुदूरपश्चिम प्रदेशमा एक थान दिने निर्णय गरेको छ।

बाँकी रहेको एक थान भने काठमाडौंमै राख्ने र पछि माग बढी भएको ठाउँमा दिने उच्चस्तरीय समन्वय समितिले निर्णय गरेको छ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजोदेखि कोरोना परीक्षण ल्याब सुरू भएकोले एक नम्बर प्रदेशमा सरकारले पिसिआर पठाएको छैन।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!