Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनबाट सामान आउन नसक्दा खिम्ती आयोजनाको काम रोकियो


प्रसारण लाइन निर्माणका लागि प्रयोग हुने सामाग्री चीनबाट नआउँदा उत्पादन तयारी अवस्थामा पुगेको उपल्लो र अपर खिम्ती आयोजनाको १९ मेघावाट विद्युत केन्द्रीय प्रसारण लाइनमा जोड्ने कार्य अनिश्चित भएको छ।

नेपाल विद्युत प्राधिकरणले चिनियाँ कम्पनी पिङ्गाओसँग गरेको सम्झौता बमोजिम प्रसारण लाइन निर्माणका लागि आवश्यक पर्ने सामाग्री नआउँदा टावर निर्माणको काम पुरा हुन नसकेको कान्तिपुर अनलाइनले लेखेको छ। रामेछापको गर्जाङदेखि न्यू खिम्ती सब स्टेशन देविटारसम्मको १ सय ५ वटा विद्युत टावरमध्ये अझै ५५ टावर निर्माण हुन बाँकी छन्। उक्त प्रसारण लाइनको काम बाँकी रहँदासम्म उत्पादित विद्युत केन्द्रीय प्रसारणमा जोड्ने वैकल्पिक व्यवस्था छैन।

आयोजनाको प्रवर्तक रहेको हिमाल ऊर्जा विकास कम्पनी लिमिटेडका सञ्चालक सरोजकुमार उपाध्यायका अनुसार चिनियाँ कम्पनीले सामान नझारेसम्म उक्त टावरहरु निर्माण हुन सक्ने अवस्था छैन। उक्त सामाग्रीहरु महिनौअघि आइसक्नु पर्ने थियो। यसअघि कम्पनीले उपलब्ध गराएको सामाग्रीबाट ५० वटा टावरको काम सम्पन्न भएको उपाध्यायले बताएका छन्।

Insert your Ads code here

२०७७ असारमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको उक्त दुवै आयोजनामा लकडाउनको अवधिमा समेत पूर्वाधारको काम भइरहेको छ। ऊर्जा मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको सहजिकरणमा आयोजनाका महत्वपूर्ण काम भइरहेको उहाँले बताउनुभयो। ‘पावर हाउसमा मेसिन जोड्ने अवस्थामा पुगेका छौं ,’ उपाध्यायले भन्नुभयो,’अरु काम सकेपनि प्रसारण लाइन सकिएन भने कुनै अर्थ भएन। ‘

उहाँका अनुसार १२ मेघावाटको उपल्लो खिम्ती र ७ मेघावाटको अपर खिम्ती दुवै आयोजनामा करिब ९८ प्रतिशत काम पुरा भइसकेको छ। आयोजना निर्माणका लागि करिब ३ अर्ब १५ करोड लागत अनुमान गरिएको छ।

रामेछापको गोकुलगंगा गाउँपालिकामा पर्ने खिम्ती खोलाको पानी प्रयोग गरी चुचुरेको खारेमा १२ मेघावाटको उपल्लो खिम्ती आयोजना र सो आयोजनाबाट खस्ने पानीलाई पुन प्रयोग गरी जर्गाङ्गमा ७ मेघावाटको अपर खिम्ती आयोजनाको निर्माण गरिएको हो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!