चीनबाट ३ सय ४० टन स्वास्थ्य सामग्री ल्याउन नेपाली सेनाद्वारा सम्झौता
नेपाली सेनाले चीनबाट ३ सय ४० टन औषधी खरिद गर्ने भएको छ। सेनाले जि-टु-जी प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न लागेको हो। स्वास्थ्य सामग्री खरिदका लागि आइतबार सेनाले अन्तिम सम्झौता गरेको छ। सम्झौताअनुसार ३ सय ४० टन स्वास्थ्य सामग्री आउने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनु भएको सेतोपाटी अनलाइनले लेखेको छ।
‘आज सम्झौतामा हस्ताक्षर गरेर पठाइएको छ। उताबाट पनि हस्ताक्षर हुन्छ। अब रकम पठाउने काम मात्रै बाँकी हो,’ पाण्डेले भन्नुभयो, ‘हामीले पैसा पठाएको सात दिनभित्र स्वास्थ्य सामग्री पठाउने प्रतिबद्धता चिनियाँ पक्षबाट भएको छ। सम्भवत सोमबार हामीले पैसा पठाउँछौं।’
चीनबाट आउने स्वास्थ्य सामग्रीको मूल्य सोमबार मात्रै थाहा हुने उहाँले बताउनुभयो। सातदेखि दस दिनमा पहिलो चरणको सामग्री आइपुग्ने भन्दै पाण्डेले पहिलो चरणमा अति आवश्यकीय सामग्री आइपुग्ने बताउनुभयो।
३ सय ४० टन सामग्री ल्याउन एकैपटक सम्भव नहुने भएकाले पनि विभिन्न चरणमा ल्याइने उहाँको भनाइ छ। चीनले दिने सबै सामग्री व्यापारिक सहर ग्वान्जाओ ल्याइदिनेछ। त्यहाँबाट नेपाल सरकारले ल्याउनेछ।
यसैबीच स्वास्थ्य सेवा विभागले पनि तीन वटा कम्पनीसँग झन्डै ३० करोडको स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरिसकेको छ। वैशाख ५ गते गरिएको सम्झौताअनुसार दुई साताभित्र ती सामग्री आइपुग्ने स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेलले जानकारी दिनुभयो।
कतिपय स्वास्थ्य सामग्री आइसकेको पनि डोटेलले बताउनुभयो। उहाँले जि-टु-जी मार्फत नेपाली सेनाले ल्याउन सक्ने स्वास्थ्य सामग्री र आवश्यकताको आधारमा सम्झौता गरिएको जानकारी दिनुभयो। स्वास्थ्य सामग्री कति चाहिन्छ भन्ने अध्ययन गरेर सम्झौता गरिएको उहाँको भनाइ छ।
आफूसँग भएका सामग्री दिइसकेको र दिन बाँकी क्रमशः ल्याउँदै जाने र सम्झौताअनुसार दिँदै जाने ओम सर्जिकलका कार्यकारी निर्देशक दलबहादुर भण्डारीले बताउनुभयो। ओम सर्जिकलसँग १४ प्रकारका स्वास्थ्य सामग्रीका लागि १८ करोड ९५ लाख ६२ हजारको सम्झौता भएको छ।
तपाइँकाे प्रतिक्रिया
