चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ। सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले लेखेको छ।
सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने जनाइएको छ। स्वास्थ्य परीक्षणका लागि नाकामा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा छ। ती सामग्रीको आयातसँगै तातोपानी नाका विधिवत् रुपमै पुनःसञ्चालन हुने खत्रीले बताउनुभयो। ‘बिहीबार जाँचपास गर्न पत्र आएको छ, आज(शुक्रबारदेखि मालवस्तु जाँचपास सञ्चालन हुन्छ’, खत्रीले भन्नुभयो। अहिले नाकाबाट फलफूल र चिकित्सा सागग्री मात्रै आउने गरेको छ। तातोपानी नाका सञ्चालनका लागि सबै तयारी पूरा भएको पनि उहाँले जानकारी दिनुभयो।
सिन्धुपाल्चोकको मेलम्ची १ भोटेचौर खाल्डेमा स्थानीयवासीले बाटो बन्द गराएका छन्। प्रकोपका बेला ओहोरदोहोर बढी भएपछि स्थानीयवासीले रुख तेर्साएर बाटो बन्द गरेको स्थानीयवासी रमेश चौलागाईंले जानकारी दिनुभयो। अत्यावश्यक यातायातका साधन र व्यक्तिलाई भने अवरोध नगरिने बताइएको छ।
Insert your Ads code here
सिन्धुपाल्चोकबाट काठमाडौँ ओहोरदोहोर गर्नेको सङ्ख्या निकै रहेको स्थानीयवासी बताउँछन्। काठमाडौँ र सिन्धुपाल्चोकको नाकाके रुपमा रहेको भोटेचौरमा नगरपालिकाको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नभएकाले रोगको सङ्क्रमण बढ्न सक्ने भन्दै बाटो बन्द गरिएको स्थानीयवासीको भनाइ छ। बाटो अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो।