चीनले नेपाललाई दिएको स्वास्थ्य सामाग्री काठमाडौँ पुग्यो
शनिबार र आइतबार ४० हजार थान पीसीआर किट, ८ लाख थान सर्जिकल मास्क, ८ लाख थान डिस्पोजेबल मास्क र एन ९५ मास्क २० हजार थान र चस्मा १० हजार थान आउने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रमा पीसीआर परीक्षण बढाउने र एक घर एक परीक्षणको कुरा सही नभएको बताउनुभएको छ। एकपटक परीक्षण गरेर सधैँलाई नहुने भएकाले शंकास्पद र ट्रेसिङमा आएकाको परीक्षण गरिने उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभएको छ।
नेपालबाट अन्तराष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले चीनको छोङछिङबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको हो। हिमालयको एयरबस ३२०–२१४ कलसाइन नाइन एएलडब्लु कार्गो जहाज शनिबार नेपालमा अवतरण गरेको हो।
जहाजबाट छ हजार ८९२ केजी स्वास्थ्य सामग्री ल्याइएको विमानस्थलले जनाएको छ। आजै नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको वाइडबडी जहाजले क्वाङचौमा चार्टर्ड उडान गर्दैछ। क्वाङचौबाट स्वास्थ्य सामग्री ल्याउनका लागि नेपाल एयरलाइन्स त्यसतर्फ जान लागेको हो। सो जहाज नेपाली सेनाले चाटर्ड गरेको बताइएको छ।
त्यसैगरी हिमालय एयरलाइन्सको न्यारोबडी जहाज पनि आजै छोङछिङ उड्नेछ। यी दुवै जहाज कार्गो चार्टर्ड उडान हुन्। शनिबार आएको स्वास्थ्य सामाग्री नेपाल सरकारलाई चीन सरकारले अनुदानमा उपलब्ध गराएको हो।
तपाइँकाे प्रतिक्रिया
