Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनसँगको नाका खोल्ने निर्णय गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयलाई


कोरोना भाइरसको कारण बन्द नेपाल–चीन नाका खोल्ने विषयमा चार मन्त्रालयका सचिवहरुले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गरेका छन्। नाका बन्द हुँदा आयातनिर्यातमा असर गरेको भन्दै व्यापारीवृत्तबाट दबाब झेल्नुपरेपछि वाणिज्य, अर्थ, स्वास्थ्य र गृह सचिवले छलफललाई निरन्तरता दिएको नेपाल खबर अनलाइनले लेखेको छ।

चार सचिवबीच यो विषयमा यसअघि नै निरन्तर छलफल हुँदै आएको छ। व्यापारीहरुले नाका खुलाउन निरन्तर दबाब दिँदै आएका छन्। चीनसँगको व्यापारलाई समेत असर गरेको र पछिल्लो समय चीनमा कोरोना भाइरस नियन्त्रणमा आएको भन्दै बन्द नाका खुलाउने विषयमा छलफल भएको हो।

उक्त बैठकमा सहभागी एक सचिवका अनुसार नाका खुलाउने विषयमा कुनै सहमति भने जुटेको छैन। आजको बैठकले चीनको नाका खुलाउन सकिने तथा नसकिने भन्ने विषयको निर्णय गर्ने जिम्मा भने स्वास्थ्य मन्त्रालयलाई दिएको छ।

Insert your Ads code here

‘चीनको नाका खुलाउने विषय स्वास्थ्यसँग जोडिएको छ। चीनको अहिलेको अवस्था कस्तो छ भन्ने विषय पनि स्वास्थ्य मन्त्रालयले नै अध्ययन गरिरहेको छ’, ती सचिवले भने, ‘नेपालको चेकजाँचको अवस्थामा तथा त्यससम्बन्धी प्रविधि पनि स्वास्थ्य मातहतका निकायहरुसँग नै रहेको छ। त्यसकारण आजको बैठकले स्वास्थ्य सचिवलाई निर्णय गर्ने अधिकार दिएको हो।’

चीनको नाका खुलाउने विषय नेपालले चाहेर मात्रै त हुँदैन तर पनि नेपालको तर्फबाट पनि खुलाउने निर्णय स्वास्थ्य मन्त्रालयले गर्ने उनले बताए। स्वास्थ्यले चीनतर्फ अब खुलाउन सक्छ भनेपछि कूटनीतिक पहल गर्ने नेपालले तयारी गरेको छ।

चीनतर्फको नाका माघ १४ देखि बन्दप्रायः छ। नाकाबन्दीले नेपाल–चीन स्थलमार्गबाट हुने आयातनिर्यात पनि ठप्प भएको छ। तर जलमार्गबाट हुने व्यापार भने अहिले पनि निरन्तर रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ। चीनको केही वस्तु समुद्रबाट भारतको कलकत्ता पोर्ट हुँदै पनि आयात हुन्छ। जुन अहिले पनि सुचारु भइरहेको मन्त्रालयको भनाइ छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!