पछिल्लो समय चर्किएको चीन–भारत सीमा विवादले नेपालमा निर्माण तथा मर्मतसम्भार भइरहेका अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम प्रभावित भएको छ। चीनबाट भारतको बाटो हुँदै सामान ल्याउनुपर्ने भए पनि दुई छिमेकी राष्ट्रबीच बढेको तनावले नेपाल आयात हुने सामानमा यसको प्रभाव परेको हो।
चीन–भारत विवादित सीमा क्षेत्र गलवान उपत्यकामा भएको झडपमा भारतले चीनबाट आउने सबै सामग्रीमा कडाइ गरेको छ। यसले भारतको बाटो हुँदै नेपाल भित्रिने चिनियाँ सामग्रीमा पनि अवरोध हुने डरले व्यवसायीहरु ती सामग्री ल्याउन तयार नभएका हुन्।
नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलको लागि आवश्यक पर्ने उपकरण चीनबाट ल्याउनुपर्छ। तर विमानस्थल निर्माण गरिरहेका ठेकेदारले चीनबाट सामग्री ल्याउन खोजे पनि कार्गो व्यवासायी तयार नभएको पोखरा विमानस्थल प्रमुख विनेश मुनाकर्मीले बताउनुभयो। करिब ६० प्रतिशत काम सकिएको पोखरा विमानस्थलको लागि आवश्यक उपकरण तथा डिजाइनका सबै सामग्री ल्याउन बाँकी नै छ।
कार्गो व्यवसायीहरु पनि चीनको सामान भारतको बाटो हुँदै ल्याउन अहिलेसम्म कुनै अवरोध नभएको बताउँछन्। रसुवागढी–केरुङ नाका कोभिड–१९ का कारण रोकिएकोले सामग्री भारत घुमाएर ल्याउनुपर्ने अवस्था आएको थियो। केही दिनयता यो नाका खुलेको छ। तातोपानी नाका पनि अहिले खुलेकाले केही सामग्री त्यहाँबाट ल्याइएको नेपालखबर अनलाइनमा समाचार छ।