नेकपाका उपाध्यक्ष वामदेव गौतमले जनयुद्ध जस्तो ठूलो बलिदान संसारको इतिहासमा नभएको बताएका छन्। जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै गौतमले यस्तो बताएका हुन्।
नेपालको जनयुद्धको घटना विश्व इतिहासमा विरलै हुने ऐतिहासक घटना भएको जनाउँदै जनयुद्ध र जनआन्दोलनले सामन्तवादलाई परास्त गरेको र साम्राज्यवादलाई कमजोर बनाउने गौतमले उल्लेख गरे। उनले भने ‘जनयुद्ध बलिदानको युद्ध हो, मुक्ति र सङ्घर्षको युद्ध हो, यति ठूलो बलिदान संसारको इतिहासमा भएको थिएन, ती शहीदहरुलाई सम्मान गर्दै अब हामीले बहुदलीय प्रतिस्पर्धाका आधारमा समाजवाद स्थापनामा लाग्नुपर्छ।’
Insert your Ads code here
उपाध्यक्ष गौतमले जनयुद्धका क्रममा तत्कालीन एमालेका करीब ३ सय नेता-कार्यकर्ता मारिएकामा त्यसको लेखाजोखा पनि हुनुपर्ने बताए। कार्यक्रममा शहीदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको थियो। तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत २०७५ जेठ ३ गते एकता भएपछि हरेक फागुन १ लाई ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभा’ का रुपमा मनाउन थालिएको अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।