Loading... आजः शनिबार , श्रावण १२, २०८१

जनसंख्याको नियन्त्रणभन्दा पनि व्यवस्थापनलाई प्राथमिकता


स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले जनसंख्याको नियन्त्रणभन्दा पनि व्यवस्थापनलाई प्राथमिकता दिएको बताउनुभएको छ। शनिबार विश्व जनसंख्या दिवसका अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री ढकालले सरकारले सन्तुलित जनसंख्याको वितरण र प्रभावकारी जनसंख्या व्यवस्थापनको मार्गमा खासखास सूचकहरुमा सुधार गर्नु पर्ने अवस्था रहेको बताउनुभयो।

जनसंख्या नै विकासको मूल आधार र देशको अस्तित्व स्थापना गर्ने एक मूल मापक भएको उल्लेख गर्दै मन्त्री ढकालले भन्नुभयो, ‘२०६८ को जनगणनाको नतिजाले नेपालको वार्षिक जनसंख्या वृद्धिदर २ प्रतिशतभन्दा तल झरेको देखिएपछि जनसङ्ख्याको नियन्त्रण भन्दा पनि जनसंख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको छ। सरकारले तय गरेको पन्ध्रौँ पञ्चवर्षीय योजनामा प्रतिबद्धता जनाई लागू गरेको दिगो विकास लक्ष्यलगायतका हरेक कार्यक्रममा जनसंख्या व्यवस्थापन प्राथमिकतामा परेको छ।’

जनसंख्या वृद्धिमा सन्तुलन, प्रजनन स्वास्थ्यमा सुधार, प्रजनन अधिकारको पृष्ठपोषण, बालविवाहमा कमी, सुरक्षित मातृत्वलगायतका क्षेत्रमा नेपालले ठूलो प्रगति गरिसकेको उल्लेख गर्दै मन्त्री ढकालले यस क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। सन् १९८९ को जुलाई ११ बाट मनाउन थालिएको विश्व जनसंख्या दिवसको यस वर्षको नारा ‘कोभिड–१९ संक्रमणको पूर्ण अन्त्य गरौं, महिला र किशोरीहरुको स्वास्थ्य र अधिकार सुरक्षित गरौं’ कायम गरिएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!