Loading... आजः शनिबार , श्रावण १२, २०८१

जलवायु परिवर्तनको प्रभावले मासियो स्याउ


कुनै समय लटरम्म स्याउ फल्ने सतबाँझ फार्ममा अहिले पुराना स्याउका एउटा पनि बोट छैनन्। स्याउ उत्पादनका लागि चिनिएको यो फार्ममा स्याउ नासिएपछि अहिले विभिन्न प्रजातिका फलफूलको खेती विस्तार गरिएको छ। सतबाँझ सुक्खा फलफूल केन्द्रको २९ हेक्टर क्षेत्रफलमा अहिले केही नयाँ जातका स्याउ र हिउँदको समयमा फल्ने सुक्खा फलफूल लगाइएको केन्द्रले जनाएको छ। अहिले यो फार्म सुक्खा फलफूलको बेर्ना उत्पादन, परीक्षण केन्द्रका रूपमा विकास भइरहेको छ। केन्द्रका अनुसार केही वर्ष अघिसम्म मङ्सिरदेखि फागुनसम्म हिउँले डम्म ढाकिने सतबाँझको यो डाँडाको फार्ममा छ हजारभन्दा बढी स्याउका बोटबाट वार्षिक ४० टन स्याउ उत्पादन हुने गथ्र्यो। स्याउ फल्न छोडेपछि फलफूल केन्द्रले पछिल्लो समय ओखर र नास्पातीका बोट लगाए पनि स्याउकै कारण प्रसिद्धि कमाएको सतबाँझको इतिहास लोप हुने स्थिति रहेको गोरखापत्र अनलाइनले लेखेको छ।

उजाड बन्न थालेको फलफूल केन्द्र जोगाउन अहिले ५५ हजार बोट ओखर, एक हजार जैतुन, कागजी बदाम लगाउन सुरु गरिएको छ। बागवानी विज्ञहरूका अनुसार स्याउ फल्न वर्षभरिमा एक हजार छ सय घण्टासम्म सात डिग्री सेल्सियसमुनि तापक्रम चाहिन्छ। अहिले यो ठाउँमा पाँच सय घण्टा पनि मुस्किलले सात डिग्री सेल्सियस तापक्रम पुग्छ। प्राविधिकहरूका अनुसार जलवायु परिवर्तनका कारण पुराना प्रजातिका स्याउका बोट हराएका हुन्। पुराना प्रजातिको स्याउ उत्पादन हुन छोडेपछि सतबाँझको इतिहास मेटिन नदिन अहिले फुजी, गाला र रेडग्रेड स्टिम प्रजातिका एक सय नयाँ स्याउका बोट रोपिएको फलफूल केन्द्रका प्राविधिक अर्जुन खड्काले बताउनुभयो।

प्राविधिक खड्काका अनुसार अहिले रोपिएका स्याउका बिरुवा तीन वर्षमा फल्ने र एउटा बोटबाट १२ देखि १५ किलोसम्मका स्याउ उत्पादन हुनेछ। पहिलोपटक फर्ममा नास्पाती, ओखर, कागजी बदाम, खुर्पानीबाहेक किबीको पनि उत्पादन सुरु गरिएको छ।

Insert your Ads code here

सतबाँझको विशाल फाँटमा कृषि प्रविधि पढ्ने विद्यार्थीले प्रयोगात्मक अध्ययन गर्ने अवसर पाएका छन्। कृषिको प्रयोगात्मक अध्ययन हुने सुदूरपश्चिमका झण्डै सबै इन्स्टिच्युटका विद्यार्थी सतबाँझमा आउने गर्छन्। हेर्दै, सिक्दै काम गर्न पाइएकोमा विद्यार्थी पनि दङ्ग छन्। बैतडीको वासुदेव माध्यमिक विद्यालयमा अध्ययनरत सीमा साउद बिरुवामा रङ लगाउने तयारी गर्दै हुनुहुन्थ्यो।

“प्रयोगात्मक अध्ययनका लागि सतबाँझ फार्ममा सजिलो भएको छ। धेरै अभ्यास गर्न पाएका छौँ,” उहाँले भन्नुभयो। १८ महिनाको जेटीए

अध्ययन पाठ्यक्रम अन्तर्गत छ महिना प्रयोगात्मक अध्ययन गर्नुपर्ने हुन्छ। रोपिएका बिरुवाहरूमा कलमी गर्ने, काँटछाँट गर्ने, कलरिङ गर्ने, जग्गा रेखाङ्कन गर्ने, बिरुवा रोप्ने र रोपेका बिरुवाहरूको उपचार गर्ने काम विद्यार्थीले गर्दै आएका छन्। बिरुवामा कीरा नलागोस् भनेर चुनामा विभिन्न सामग्री मिश्रण गर्दै हुुनुहुन्थ्यो, निर्मला परियार। श्री सेतगाउँ मावि, गोकुलेश्वरमा कृषि प्राविधिक अध्ययनरत उहाँ विद्यालयबाट अभ्यासका लागि यहाँ आउनुभएको हो। बिरुवाहरूमा रोग कीरा नलागोस् भनेर तयार पारिने रङमा चुना, निलोतुथो, आलसको तेल र पानीको मिश्रणबाट बनाइएको झोल बिरुवामा लगाउँदा बिरुवा स्वस्थ भई बढ्ने उहाँले बताउनुभयो।

यसरी प्रयोगात्मक अभ्यास गर्दा घर वरपरका बोटबिरुवा कसरी स्वस्थ बनाउने भन्ने ज्ञान पनि हुने विद्यार्थीको अनुभव छ। ठूलो फार्म भएकाले एकैपटकमा एक सय जनाभन्दा बढीले अभ्यास गर्न सकिने केन्द्रका प्राविधिक खड्काले बताउनुभयो। यही फार्ममा अभ्यास हुने भएकाले अभ्यासका लागि अन्य जिल्ला जान नपरेपछि विद्यार्थीलाई सहज भएको छ।

सतबाँझ फार्म स्थानीय महिलाका लागि रोजगारीको थलो पनि रहँदै आएको छ। “घरको भात खाएर ढुक्कले सजिलो काम पाएका छौँ,” स्थानीय पार्वती रोकायले भन्नुभयो, “बोटबिरुवा र फलफूलका बोटको झार उखेल्ने काम सजिलो हो। दिन बितेको थाहै हुँदैन। दैनिक काम पाएपछि परिवार पाल्न पनि सजिलो भएको छ।”

सतबाँझको फार्ममा हरेक दिन एक सय जनाभन्दा बढी स्थानीय महिलाले रोजगारी पाएको केन्द्रका प्राविधिक खड्काले बताउनुभयो। स्थानीय नीरमाया दयालले पनि फार्ममा काम गरेर कमाएको पैसा छोराछोरीको बोर्डिङ स्कुलको शुल्क तिर्नुहुन्छ। घरमा महिलाले पैसा आर्जन गर्न सक्षम भए परिवार सुखी हुने उहाँको भनाइ थियो।

विसं २०१९ देखि सतबाँझमा स्याउ खेतीको सुरुआत गरिएको हो। तत्कालीन राजा महेन्द्रले विसं २०१४ मा सुदूरपश्चिमको पैदल भ्रमण गर्नुभएको थियो। यहाँ खेर गइरहेको विशाल फाँट देखेर उहाँले नै स्याउको उत्पादन गर्न चासो दिनुभएको र स्याउ उत्पादन सुरु भएको सतबाँझको इतिहास छ।

हाल यहाँको लगभग २० हेक्टर जमिनमा मात्र सुक्खा फलफूलको उत्पादन र बिक्रीवितरण हुने गरेको छ। यस केन्द्रले नेपाल सरकारलाई वार्षिक १० लाख रुपियाँसम्म राजस्व उपलब्ध गराइरहेको छ। पाँच लाखको हाराहारीमा हिउँदे फलफूलको कलमी तथा बिरुवा उत्पादन गरी देशका विभिन्न जिल्लामा बिक्रीवितरण गरेको छ। केन्द्रबाट एक हजार पाँच सय जना अगुवा कृषक तलिमप्राप्त छन्।

केन्द्रले उच्च गुणस्तरका शितोष्ण प्रदेशीय फलफूलका बिरुवा उत्पादन गरी कृषक वर्गलाई उपलब्ध गराइरहेको छ। फलफूलको बगैँचा तथा नर्सरी स्थापना गर्ने काममा प्राविधिक सेवा पु¥याइरहेको छ। ताजा फलफूलको उत्पादन बढ्ने भएपछि कृषकको आयस्तर पनि बढ्ने र डाँडापाखामा हरियाली भए पहाडी क्षेत्रको पर्यावरणीय अवस्थामा पनि सुधार हुने प्राविधिक बताउँछन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!