दुई महिनादेखि निर्माण रोकिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम केही दिनभित्र सुरु गर्ने तयारी छ। सुरुङमार्गमा बर्खाअघि सक्नुपर्ने कामलाई प्राथमिकता दिइने आयोजनाले बताएको छ। जापानी निर्माण कम्पनी हाज्मा आन्दोलाई आइतबार पत्र लेखेर काम सुरु गर्नेबारे प्रस्ताव मागिएको नागढुंगा–सिस्नेखोला सुरुङ आयोजना प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिनुभयो।
प्रस्ताव आउनासाथ निर्माण थालिने उहाँको भनाइ छ। अहिले निर्माणस्थलमा कामदार छैनन्। २ सय ८० जना कामदार घर गएका छन्। तीमध्ये केही कामदारलाई सम्बन्धित जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय गर्दै ल्याएर काम अघि बढाइने खरेलले जानकारी दिनुभयो। धादिङतर्फ मुआब्जाको विषयले गर्दा लकडाउनअघि एक महिना काम रोकिएको थियो। यही बेला फेरि कोभिड–१९ ले समस्या निम्त्यायो। उहाँले भन्नुभयो, ‘जापानी र फिलिपिनो गरी १३ जना प्राविधिक मात्र छन्।’ कान्तिपुर अनलाइनका अनुसार जापानबाट अन्य कामदार आइसकेका छैनन्।
काम अघि बढाउने सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागसँग छलफल भइरहेको खरेलले बताउनुभयो। ४२ महिनाभित्र निर्माण सक्ने गरी गत कात्तिकबाट सुरुङ निर्माण थालिएको हो। समयमै साइट उपलब्ध हुन नसक्दा र लकडाउनले गर्दा बाधा पुगेको समय थप गर्नुपर्ने निर्माण कम्पनीको माग छ।