Loading... आजः सोमबार , असार ३२, २०८१

जितिया पर्वसँग जोडिएका किंवदन्ती र कथा


भुलाई चौधरी

थारू समुदायको महान् पर्व हो- जितिया । महिला/आमाहरू आफ्ना सन्तानको दीर्घायु, सुख-समृद्धि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिन्छन् । थारू समुदायमा जब कोही मानिस मर्नबाट संयोगवश बाँच्छ, त्‍यतिबेला भनिन्छ- ‘तिम्री आमाले खर अर्थात् शुद्ध दिन जितियाको व्रत लिएकी हुनाले तिमी बाँच्यौ ।’

किंवदन्ती अनुसार जब देवी पार्वतीले देवाधिदेव महादेवलाई सोध्छिन्- मृतभुवन (पृथ्वीलोक)मा महिलाले आफ्नो सन्तानको सफलता, समृद्धि, उन्नति आदिको लागि कुनै व्रतको व्यवस्था छ ? उत्तरमा महादेवले सुझाएछन्- जितिया । तत्पश्चात् नै शुरु भएको यो जितियाको व्रत आज पनि यस धर्तीमा थारु समुदायसँगै मिथिलाञ्चलका मधेशी, दलित लगायत तराई-मधेशमा बसोबास गर्दै आएका अन्‍य समुदायले पनि स्वीकार गरी मनाउँदै आइरहेका छन् ।खासगरी जितिया पर्व नेपालको तराईमा मनाइन्छ । तर सीमावर्ती मुलुक भारतको बिहार, उत्तरप्रदेश, छत्तिसगढ, झारखण्ड, मध्यप्रदेशमा पनि यो पर्व मनाइन्छ । किनकि यसको सामाजिक, धार्मिक र ऐतिहासिक महत्व समुदायका सधवा तथा विधवा महिला, आमाहरुले आ-आफ्नै व्यवहार र चलनचल्ती अनुसार श्रद्धा र भक्तिपूर्वक जितिया पर्व मनाउँदै आएका छन् ।

Insert your Ads code here

प्राचीन समयमा सालिकवाहन नामका महाप्रतापि तथा महाधार्मिक राजा थिए । उनकी मसवासी नामकी छोरी थिइन् । छोरी जति सुन्दरी थिइन्, उत्तिकै धार्मिक पनि । उनी हुर्कंदै गइन् र उमेर पुगेपछि राजाले विवाहको कुरा चलाए, तर राजकुमारीले आफू बिहे नगर्ने बताइन् । छोरीको कुरा सुनेर राजा आश्चर्यचकित भए र उनलाई लाखौंपटक सम्झाए, तर मसवासीले मानिनन् ।

अन्ततः राजाले मसवासीको इच्छानुसार राजमहल बाहिर कुटी बनाइदिए । तत्पश्चात् राजकुमारी त्यही कुटीमा बसेर साधक जीवन बिताउन थालिन् । उनी हरेक दिन सूर्योदयअघि नै नदीमा गई नुहाई-धुवाई गरी पूजाआजामा व्यस्त हुन थालिन् । संयोगले एक दिन बिहान उनी ढिला उठिन् । नदीमा पुगी नुहाई आश्रममा फर्कंदा सूर्य उदाइसकेको रहेछ । सूर्यको प्रकाश उनको शरीरमा पर्‍यो ।

सूर्यको तेजको प्रभावले उनी गर्भवती भइन् । अविवाहित साधवी छोरी गर्भिणी भएको कुराले राजा र देशवासी नै चकित परे र रिसले आगो भए । मसवासीले यसबारेमा आफ्नो कुनै दोष नभएको बताइन्, तर उनको कुरा कसैले सुन्‍न/बुझ्न सकेनन् । उनले अन्ततः एउटा छोरो जन्माइन् । उनको छोरा सबै खेलमा साथीहरूलाई जित्ने भएर निस्कियो, त्‍यही भएर छोराको नाम जितुवा राखियो ।

उनका साथीहरू जितुवाको क्षमता देखेर डाह गर्थे । मनमनै अनेर्वा (बुबा नभएका) भनेर जितुवालाई गिज्‍याउँथे । साथीहरूसँग एउटा खेल खेल्ने क्रममा जितुवालाई उनको बुबाको नाम आवश्यक पर्‍यो र बुबाको नाम थाहा नभएकाले उनी समस्यामा परे । त्‍यसपछि उसले आमालाई यो कुरा सुनाए । धेरै बिन्तीपछि आमाले जितुवालाई बुबाको नाम सूर्य भनेपछि उसले खेलबाट मुक्ति पाए ।

तर जितुवालाई आफ्नो बुबा सूर्य भएकोमा विश्वास लागेन । अन्नतः उनी सूर्यलाई भेट्न यात्रामा निस्किए । केही दिनको बाटो हिंडिसकेपछि सूर्यले विचार गर्न थाले- मकहाँ आएपछि त मेरो छोरो जितुवा डढेर भस्म हुन्छ । त्यसकारण सूर्यदेव आफैं मानिसको रूप धारण गरी जितुवालाई दर्शन दिए र छोरालाई सम्झाएर घर फर्काए । यस क्रममा सूर्यले जितुवालाई आशीर्वाद दिए- ‘अबदेखि लोकका कुनै पनि विवाहिता महिलाले नियम, निष्ठा तथा श्रद्धाभक्तिपूर्वक जितमहानको पूजा अर्थात् जितिया व्रत गरेमा उनका सन्तति दीर्घायु हुनेछन् ।’ त्यसपछि बल्ल जितुवा हाँसीखुसी घर फर्के र यो वृत्तान्त सबैलाई सुनाए ।

यसै सन्दर्भसँग मिल्ने अर्को पनि कथा छ। नर्मदा नदीको शर्वदा घाटमा महिला भेला भएछन् । किनारामा एउटा ठूलो रुख थियो। रुखको टुप्पोमा एउटा चील र फेदमा स्याल बस्दथ्यो ।

लामो समय सँगै बस्दा तिनीहरूबीच मित्रता थियो। घाटमा महिलाहरूले जितिया व्रत लिएको रहस्य पनि स्याल र चीलले थाहा पाएछन् । त्यसपछि उनीहरूले पनि व्रत लिने निश्चय गरेछन् ।

महिलाले छोडेका पूजा सामग्रीहरूबाट चील र स्यालले पनि नदीमा नुहाई व्रत लिएछन्। त्यस रात दर पनि खाएछन् । अष्टमी तिथिमा फेरि महिलाले घाटमा गई विधिपूर्वक जितमहानको पूजाआजा गरेछन् भने जितिया कथा श्रवण गरी व्रत सम्पन्न गरी घर फर्केछन् । चील र स्यालले पनि त्यसै गरेछन् । तर राति स्याललाई साह्रै भोक लागेछ र भोक थेग्न नसकेपछि उसले नजिकैको चिहानमा गाडिएको बालकको शव खाएछ ।

चीलले यो सबै कुरा थाहा पाएछ, तर पनि उसले व्रत बिथोलिने भएकाले केही भनेनछ । पछि दुवैजना आफ्नो व्रतको प्रभाव जाँच्न कुम्भ मेला गए र व्रतको प्रभावले चील र स्याल जुम्ल्याहा दिदीबहिनी भएर वेदका ज्ञाता भास्कर ब्राह्मणको घरमा जन्म लिएछन् । चील जेठी दिदी सोमता र शिलावती भइन् भने स्याल कान्छी वेमता र कर्पुपुरावती भइन् ।

यी दुवै जवान भएपछि एक राजा र एक धनाढ्यसँग बिहे भयो, तर पूर्वजन्ममा व्रत उल्लंघन गरेकाले कान्छी वेमताले भने सन्तान वियोग खप्नुपर्‍यो । पछि फेरि उही जितिया व्रत बसेपछि वेमताको जीवनमा समेत बहार आयो ।

जितिया पर्वलाई भाइबहिनीबीचको स्नेहपूर्ण मिलन पर्वको रूपमा पनि मनाइन्छ। आफन्त, कुटुम्ब र नातेदारबीचको सम्बन्ध प्रगाढ बनाउने एउटा पवित्र पर्व पनि हो। अर्को कुरा, संसारमा सिर्जना भएका वा जन्म लिएका सबै जीवनको बीचमा सम्बन्ध जोडिएको हुन्छ र कुनै एकको विनाश भएमा त्यसको असर सबैलाई पर्छ भन्ने सन्देश जितियाले दिन्छ।

जितिया सम्बन्धी माथि उल्लिखित कथामा आमा र सन्तानबीचको घनिष्टता पनि उल्लेख छ। त्यस्तै कुनै पनि काम विधि पुर्‍याएर गरेमा अवश्य पनि सफलता हात पर्छ भन्ने सन्देश यस पर्वले दिनेछ। कथाको अर्को पक्ष हो, यो जगत्‌मा सबैसँग मिलेर बस्नुपर्छ र सबै वनस्पति र प्राणीको सम्मान गर्नुपर्छ।

अझ महत्वपूर्ण कुरा, कसैले पनि केही कुरामा घमण्ड गर्नुहुँदैन किनकि यस संसारमा वीरभन्दा पनि वीर छन्। जितिया पर्वको पौराणिक कालमा जति महत्व थियो, आज पनि उत्तिकै छ। तपाईं/हामी अरू कसैलाई नहराइकन हार्दिक र आरोग्य जीवन जितिरहौं। आफू पनि जितौं र अरूलाई पनि जिताऔं । जितियाको शुभकामना ।         अनलाइन खबरबाट साभार

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!