Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

‘जुन नागरिकको भोटले मोदीजी प्रधानमन्त्री बने, प्रधानमन्त्री बनेपछि ती नै नागरिकलाई भारतीय नागरिकताको प्रमाण माग्दैछन्- मुख्यमन्त्री ममता व्यानर्जी


दार्जीलिङ, 22 जनवरी। भारतको पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले भाजपा सरकालले ल्याएको नागरकिता संसोधन ऐन र नागरिक पञ्जिकरम ऐनमार्फत गोर्खाहरूको नागरिकता कुनै हालतमा खोस्न नदिने घोषणा गरिन्। बुधबार दार्जीलिङमा तृणमूल काङ्ग्रेस र गोर्खा जनमुक्ति मोर्चाले संयुक्तरुपमा आयोजना गरेको नागरिक पञ्जीकरण (एनआरसी), नागरिकता संशोधन ऐन (सीएए) र राष्ट्रिय जनसङ्ख्या पञ्जीकरण (एनपीआर)-को प्रतिवाद ऱ्यालीलाई बंगालकी मुख्यमन्त्री ममता व्यानर्जीले नेतृत्व गरिन्। गोर्खा रङ्गमञ्चबाट शुरु भएको ऱ्यालीमा उनले नाराबाजी गर्दै सडकमा उत्रिन्।

व्यानर्जी दुइदिन अघि नै दार्जीलिङ पुगेकी हुन्। सोमबार सिलगढीनजिक अठारखाई मैदानमा उत्तर बंगाल उत्सवको उद्घाटन गरिन्। यसैछेकमा सिलगढी जर्नलिष्ट क्लबको नयाँ भवनको उद्घाटनसमेत गरिन्। कालेबुङकी हेमलता प्रधान, दार्जिलिङका गणेशबहादुर गिरी, सिलगढीका भारती घोष, कोचबिहारका ज्योतिर्मय राय, अलिपुरद्वारका राजेन्द्र नाथ, मालदाका दिवेन्द्प सरकार, उत्तर दिनाजपुरका विश्वनाथ लाहालाई उनले बंगरत्न पुरस्कार प्रदान गरिन्। उत्सव उद्घाटन सकेपछि नै उनी सिलगढबाट दार्जीलिङ चढेकी हुन्।

उनले मंगलबार दार्जिलिङको भ्रमण गरिन्। पैदल यात्रामा निस्किएकी व्यानर्जीले बाटैमा दुइ बालिकालाई पोलियो खुराकसमेत खुवाइन।

आज ऱ्यालीमा सरिक बनिन्। ऱ्यालीमा एनआरसी, सीएए र एनपीआरविरुद्ध उत्रिएका दार्जीलिङबासीको बाक्लो उपस्थिति थियो। ऱ्याली फर्किएर रङ्गमञ्च नै पुगेपछि उनले दार्जीलिङलाई सम्बोधन गरिन्।

Insert your Ads code here

शुरुमा नेपाली भाषामा नै बोलिरहेकी मुख्यमन्त्रीलाई नेपाली शब्दहरूको उच्चारण नआएपछि हिन्दीमा बोलिन्। शुरुमा नै उनी भारतीय जनता पार्टी, प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहाप्रति आक्रमक बनिन्।

‘जुन नागरिकको भोटले मोदीजी प्रधानमन्त्री बने, प्रधानमन्त्री बनेपछि ती नै नागरिकलाई भारतीय नागरिकताको प्रमाण माग्दैछन्,’ व्यानर्जीले भनिन्, ‘के अब भारतमा यस्तो दिन आएको हो, जहाँ को नागरिक हुन्, को होइनन्, त्यो भाजपाले तय गरोस्? भोटको राजनीतिमा नागरिकलाई सताउने नियत हामीलाई मन परेको छैन। सीएए कानून फिर्ता गरियोस्।’

मुख्यमन्त्री व्यानर्जीले गोर्खाल्याण्ड बंगालको मुटु रहेको कुरा दोहोऱ्याइन्। देशमा रहेको गोर्खाका योगदान केलाइन्। भारत स्वाधिन गर्न होस् वा देशको निर्माण गर्न होस्, गोर्खाले गरेको त्याग र श्रममाथि भाजपालाई अन्याय गर्न नदिने प्रतिबद्धतासमेत जनाइन्।

‘मलाई अचम्म लागेको छ, सांसद राजु विष्ट होस् वा अमित शाह, उनीहरू भन्दैछन्, भारतका गोर्खाहरूलाई एनआरसीले गोर्खालाई छुँदैन,’ मुख्यमन्त्री कड्किइन्, ‘त्यसो हो भने आसामका एक लाख गोर्खालाई चाँही कसरी छोयो त?’
एनआरसी, सिएए र एनपीआरको अन्तर्यमा हिन्दू-मुस्लिम राजनीति घुसाएर भाजपाले भोटको राजनीति गरिरहेको र भाजपाको नियत थाहा पाएर नै दार्जिलिङका हजारौं गोर्खाहरू प्रतिवादमा उत्रिएको पनि उनले जनाइन्।

उनले एनपीआरको कागजमा मातापितासमेतको जन्म प्रमाणपत्र मागिएको भन्दै सुनाइन्, ‘मेरो मातापिता माटोको घरमा जन्मिए। उनीहरूसित जन्म प्रमाण पत्र छैनन्। मैले कहाँबाट निकाल्नु जन्मप्रमाण पत्र? यो त जनतालाई सास्ती दिने अमानवीय खेल भयो।’

एनआरसीबाट प्रभावित बन्नेहरूलाई पाँच वर्ष विदेशीकोरूपमा चिह्नित गरिने र पाँचवर्षभित्र विदेशीबन्दा नोकरी, सम्पति, जमिन, घरलगायत सबैथोक छुट्नेसमेत व्यानर्जीले बताइन्।
‘देशवासीलाई सताएर देश माथि उठ्दैन। पूर्वोत्तर राज्यहरूलाई एनआरसी, एनपीआर र सीएएको विरोधमा उभ्ने आह्वान गर्छु,’ व्यानर्जीले भनिन्, ‘किन भने यी तीनवटै कुरा एकार्कामा जोडिएको छ। जसले हुँदाहुँदैको नागरिकहरूलाई सास्ती र हानी मात्र गर्नेछ। भाजपाको भोटको राजनीतिमा देशका जनतालाई प्रताडना हुन दिनु उचित होइन।’
उनले बङ्गाल सरकारले 27 जनवरीको दिन विधानसभामा सिएए विरुद्ध प्रस्ताव पारित गरिने जनाएकी छन्। आफू सँधै गोर्खाको हितमा उभिएको भन्दै दार्जिलिङबासीको नागरिकता खोस्न नदिन राज्य सरकार ढाल बन्नेसमेत बताइन्।

ऱ्यालीमा गोर्खा जनमुक्ति मोर्चाका विनय तामाङ, जीटीए अध्यक्ष अनित थापालगायत बंगालका मन्त्रीहरूको उपस्थिति थियो। तीन दिवसीय दार्जिलिङ भ्रमणमा रहेकी मुख्यमन्त्री भोलि चौरास्तामा पालन गरिने 123 औं नेताजी सुभासचन्द्र बोस जयन्तीमा सरिक हुनेछिन्।
अर्कोतिर विनय तामाङले पनि गोजमुमोले एनआरसी, सिएए र एनपीआरको विरुद्धमा डटेर लड्ने ठोकुवा गरे।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!