Loading... आजः शनिबार , श्रावण १२, २०८१

झण्डै ६ महिना बन्द लामो यातायातका लागि कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला


काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण झण्डै ६ महिना बन्द रहेको नयाँ बसपार्कले प्रविधिलाई पछ्याउँदै कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेको हो । कोभिड–१९ का कारण चैत १० गतेदेखि देशभरका सार्वजनिक यातायात बन्द रहेको अवस्थामा सरकारको सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले असोज १ देखि सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेसँगै आजदेखि कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेको हो । टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन आउने यात्रुसमेत बढेको गोरखापत्र अनलाइनले जनाएको छ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर बसपार्कका कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोरोना सङ्क्रमण हुन नदिन तथा सामाजिक दूरी कायम गरी यात्रुलाई सुरक्षित रुपमा गन्तव्यस्थलसम्म लैजाने वातावरण निर्माणका लागि टिकट बुकिङलाई कम्युटर प्रणालीमा लगिएको बताउनुहुन्छ।

पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण तीब्र गतिमा फैलिरहेको बेला ल्होत्से बहुउद्देश्यीय प्रालिले बढी भीडभाड हुने क्षेत्र नयाँ बसपार्कमा कम्युटर प्रणाली जडान गरी टिकट बुकिङको व्यवस्था मिलाएको हो । यस्तै, अबको केही दिनभित्र नै ‘टोकन सिस्टम’बाट टिकट काट्नसक्ने व्यवस्था मिलाउन लागेको छ।

Insert your Ads code here

प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्ल यात्रुको सहजताका लागि नयाँ बसपार्कमा अनलाइन प्रणालीबाट टिकट बुकिङको व्यवस्था मिलाइएको बताउनुहुन्छ। ल्होत्से बहुउद्देश्यीय प्रालिले कम्युटर प्रणाली र अनलाइनमार्फत टिकट बुकिङको व्यवस्था शुरु गरेसँगै विभिन्न बस कम्पनीहरु अनलाइन माध्याममा जान शुरु गरेका छन् । आजैदेखि काठमाडौँबाट प्रदेश नं १ को ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, सुनसरी, झापा, मोरङ, तेह्रथुम र उदयपुर र प्रदेश २ को सिरहा र सप्तरी जाने ५४ बस कम्पनीले कम्युटर प्रणालीमार्फत अनलाइन टिकट बुकिङ शुरु गरेका हुन् ।

उक्त ५४ कम्पनी मिलेर बनेको काठमाडौँ–पूर्वाञ्चल यातायात व्यवसायी समन्वय प्रालिले यात्रुलाई सुरक्षित र भरपर्दो तवरले पूर्व लैजानका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर तयारी अवस्थामा बसेका छन् । प्रालिका अध्यक्ष श्री श्रेष्ठ कोरोना सङ्क्रमण फैलिन नदिन सामाजिक दूरी कायम गरी अन्तर्राष्ट्रिय स्तरको बससेवा प्रदान गर्नका लागि आफूहरुले अनलाइनमार्फत टिकट बुकिङ खुला गरेको बताउनुहुन्छ।

उक्त प्रालिमार्फत काठमाडौँबाट पूर्वाञ्चल क्षेत्रमा २७५ सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन्। सरकारले एक सिटमा एक यात्रुमात्र राख्न पाउने र ५० प्रतिशत भाडा बढाएर लिनपाउने व्यवस्था मिलाएपनि सो निर्णय व्यवहारिक नभएको उहाँको भनाइ छ । चालकको लापरवाही तथा बाटोको दूरावस्थाका कारण हुनसक्ने सवारी दुर्घटना र बसको ‘लोकेसन’ थाहा पाउनका लागि हरेक बसमा ‘जिपिएस सिस्टम’ जडान गर्न लागिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!