Loading... आजः शनिबार , श्रावण १२, २०८१

झन्डै छ सय विद्यालयमा क्वारेन्टाइन


कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बढेर समुदायमा पुग्ने स्थिति भएपछि मुलुकभरका ५९१ वटा विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको पाइएको छ। विद्यालयका क्वारेन्टाइनमा हाल कोरोना सङ्क्रमणको आशङ्का गरिएका दुई हजार ६७६ जनालाई राखिएको गोरखापत्र अनलाइनले लेखेको छ।

विद्यालय बस्तीभन्दा थोरै टाढा रहने, खुला परिसर तथा भौतिक पूर्वाधारसमेत हुने भएकाले विद्यालयमा क्वारेन्टाइन बन्ने क्रम बढेको जानकारी शिक्षा तथा मानव विकास स्रोत केन्द्रले दिएको छ। केन्द्रका अनुसार प्रदेश १ मा दुईवटा विद्यालयमा पाँच, प्रदेश २ को एक सयवटा विद्यालयमा ३७९, बाग्मती प्रदेश १८ वटा विद्यालयमा १९ तथा गण्डकीमा १० वटा विद्यालयमा ३१ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

यसैगरी प्रदेश ५ मा ६८ वटा विद्यालयमा २१, कर्णाली प्रदेशका २०१ वटा विद्यालयमा ५६३ तथा सुदूरपश्चिम प्रदेशमा १९२ वटा विद्यालयमा एक हजार ६४८ जना क्वारेन्टाइनमा रहेको जनाइएको छ। सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा धेरै मानिस विद्यालयको क्वारेन्टाइनमा रहेको केन्द्रका निर्देशक गेहनाथ गौतमले जानकारी दिनुभयो।

Insert your Ads code here

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणले कक्षाका नियमित पठनपाठन सञ्चालन हुन नसकेपछि विद्यालय तथा विद्यार्थीमा प्रविधिको पहुँच कस्तो छ भन्ने विषयमा अध्ययन थालिने भएको छ। विद्यार्थीको सिकाइमा प्रविधिको प्रयोग गर्न तथा यसको पहुँच नपुगेका विद्यार्थीका लागि अलग्गै योजना बनाउन शिक्षा तथा मानव विकास स्रोत केन्द्रले अध्ययन गर्न लागेको हो। केन्द्रका शाखा अधिकृत रुद्र भट्टराईका अनुसार यस क्रममा इन्टरनेटको पहुँच पुगेका विद्यालय, नेपाल टेलिभिजन तथा स्थानीय टेलिभिजनको पहुँच पुगेका विद्यालय, रेडियो नेपाल तथा एफएमको पहुँच पुगेका विद्यालय तथा कुनै पनि विद्युतीय माध्यमको पहुँच नपुगेका विद्यालयका बारेमा पछिल्लो तथ्याङ्क लिन लागिएको हो। उहाँले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई वैशाख १५ सम्म यसखालको विवरण उपलब्ध गराउन पत्राचार गरिएको जानकारी दिनुभयो।

केन्द्रले कक्षा ९ र १० का लागि एनटिभी प्लसबाट भर्चुुअल पाठ प्रसारण भइरहेको जनाएको छ। अन्य कक्षाका बालबालिकाका लागि पनि इन्टरनेटबाटै अध्यापन गराउने तयारी भइरहेको जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!