झुठा मुद्दा खारेज गरेर रेशमलाई छुटाइन्छ: अध्यक्ष दाहाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले युद्धमा तत्कालीन माओवादीले १७ हजार मारेको कुरा सत्य नभएको बताउनुभएको छ। बुधबार माघीको अवसरमा टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले भन्नुभयो: ‘मलाई ताकेर साथीहरुले धेरै कुरा राख्नु भएको छ। ति सबै कुराको जवाफ दिन सक्दिनँ। म तथ्यांक मात्र सच्याउन चाहन्छु। मैले १७हजार मान्छे मारेर आएको तथ्यांक भन्ने गरिन्छ। साथीहरु यो सत्य होइन। यो सत्य होइन। सत्य के हो भने हिजोको सामन्ती राजाहरुले १२ हजार मारेका हुन्। मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म जिम्मा लिन्छु। तर राजाले मारेको १२ हजारको कुरा नहुने? राज्यले मारेको पनि मेरै टाउँकोमा हाल्ने गरियो भने यो न्याय हुँदैन।’
उहाँले युद्धमा भएका राम्रा र नराम्रा कामको जिम्मेवारी लिने प्रष्ट पार्नुभयाे। ‘युद्धको म जिम्मा लिन्छु। त्यहाँ भएका राम्रा र नराम्रा कामको म जिम्मेवार छु। म त्यहाँ भएका कामबाट भाग्ने काम हुँदैन। तर नगरेको काम पनि मलाई नै थुपार्ने काम नगर्नुहोस्।’ यसकासाथै उहाँले रेशम चौधरीलाई छिट्टै जेलबाट छुटाउने बताउनुभएको छ। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमो एक बालकसहित सातजनाको हत्या घटनामा दोषी ठहर भएर जेलमा रहेका थारु अगुवा चौधरीलाई छिट्टै छुटाउने आश्वासन उहाँले दिनुभएको हो।
रेशमलाई सबैभन्दा पहिला प्रधानमन्त्रीको हैसियतमा भारतको दिल्लीमा भेटेको सम्झना गर्दै भन्नुभयो: ‘रेशमसँग भेटेर खुलेआम कुरा राख्ने पहिलो प्रधानमन्त्री प्रचण्ड थियो भन्नेकुरा नबिर्सनु होला। दाेस्रो कुरा डिल्लीबजारको जेलमा गएर रेशमलाई भेट्ने पनि म नै हो भन्ने कुरा बुझ्नुहोला।’ साथै सभामुख र पार्टीलाई भेटेर कम्तिमा रेशमलाई माननीयको दर्ता दिनुपर्छ भन्ने मान्छे पनि आफैं भएको कुरा नबिर्सन आग्रह गर्नुभयो।
टीकापुर घटनाको झुटा मुद्दा खारेज गरेर रेशमलाई छुटाउने उहाँले प्रष्ट पार्दै भन्नुभयो: ‘टीकापुर घटनामा संलग्न भएको आरोपमा केही साथीहरु छुटेका छन्। रेशमलागायका साथीहरु छुट्न बाँकी छ। छुटाइन्छ, केही समय पर्खिनुहोला।’
तपाइँकाे प्रतिक्रिया
